तीन दिवशीय कार्यक्रम गरेर ७४ औं मदन जयन्ती मनाउने
हेटौँडा-मदन भण्डारी फाउन्डेसन मकवानपुरले यो वर्ष तीन दिवशीय कार्यक्रम गरेर ७४औं मदन जयन्ती मनाउने निर्णय गरेको छ । फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा असार १२, १३ र १४ गते तीन दिन विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्नेे निर्णय गरेको हो ।
बैठकले मदन जयन्तीका अवसरमा रक्तदान कार्यक्रम, कविता प्रतियोगिता र श्रद्धाञ्जली सभालगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष खुलाललेजानकारी दिएका छन् । बैठकले असार १२ गते रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गर्ने, असार १३ गते कविता प्रतियोगिता र असार १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उनले बताए । कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगर क्रमश ७ हजार ५ हजार र ३ हजार पुरस्कार समेत प्रदान गरिने उनले जानकारी दिए ।
बैठकले तीन दिवशीय कार्यक्रमहरु सञ्चालकका लागि विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । बैठकले ३२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा जेठ १, २, ३ गते आयोजना गरिएको कार्यक्रमको समिक्षा पनि गरेको थियो । ३२ औं स्मृति दिवसका अवसरमा फाउन्डेसनले खाद्यान्न बितरण, बहस कार्यक्रम, श्रद्धाञ्जली सभा गरेको थियो । कार्यक्रम प्रभावकारी भएको बैठकले निष्कर्ष निकालेको अध्यक्ष खुलालले बताए । यस्तैे बैठकले आगामी वर्ष फाउन्डेसनको गतिविधि समेटिएको पुस्तक प्रकाशन गर्ने निर्णय गर्नुका साथै यहि जेठ १५ गते पिकनीक कार्यक्रम आयोजना गर्नेसमेत निर्णय गरेको उनले बताए ।
बैठकमा फाउन्डेसनका संस्थापक केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनले गरेका हरेक कार्यक्रमहरु प्रभावकारी र उत्कृष्ट भएको भन्दै यसलाई अझै परिमार्जन गर्दै लानु पर्ने धारणा राखेका थिए ।







