थाहामा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
हेटौँडा- मकवानपुरको थाहानगरपालिका वडा नम्बर–३ नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र नजिकै बसले ६ पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएका छन् ।सोमबार अपरान्ह बज्रबाराही गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका ६ जनालाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पैदलयात्री कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुर रहेको जनाइएको छ । उनीहरु दुवैको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । त्यसैगरी बसको ठक्करबाट रघुनन्दन यादव, कमलेश कुमार साह, बारा जितपुर सिमरा–१७ बस्ने अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बी नगरपालिका ०१ बस्ने अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते यादव र साहको अवस्था गम्भीर रहेको र थप उपचारका लागि ट्रमा टेन्टर काठमाडौं पठाइएको र अन्य दुईको पालुङमै उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त बसले थाहानगरका उपप्रमुख भरत गोपालीको घरमा समेत क्षति पु¥याएको छ ।







