सेवा, सहयोग र आवाज संस्थाद्वारा हेटौंडा फुटबल एकेडेमीलाई सहयोग
हेटौंडा-सेवा, सहयोग र आवाजमा हामी नामक संस्थाले हेटौंडा फुटबल एकेडेमीलाई सहयोग गरेको छ । चितवनको रत्ननगर नगरपालिकामा जारी दोस्रो संस्करणको माधवपूर गोल्डकप फुटबल प्रतियोगितामा सहभागी भएर सेमीफाइनलमा प्रवेश गरेका हेटौंडा फुटबल एकेडेमीका खेलाडीका लागि सेवा, सहयोग र आवाजमा हामी संस्थाले सहयोगगरेको हो । संस्थाको तर्फबाट बुधबार संस्थाका अध्यक्ष विशालराज महत सहितको टोली फुटबल प्रशिक्षणको स्थान हेटौंडा–४, स्थित हुप्राचौरमै पुगेर स्याउ, केरा, पानी लगायत सामग्री सहयोग गरको थियो । शनिबार भएको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमीले सूर्यपूर फुटबल क्लबको टिमलाई ४–३ गोलले टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
संस्थाका अध्यक्ष महतले हेटौंडा फुटबल एकेडेमीका संस्थापक अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई प्रतियोगिताको सेमीफाइनल खेलमा सहभागी हुन चितवन जानुपूर्व सहयोगको सामग्री हस्तान्तरणगरेका छन् । मकवानपुुरको प्रतिनिधित्व गरेर बाहिरी जिल्लाको प्रतियोगितामा सहभागी हुने खेलाडीलाई हौसला प्रदान गर्न र मनोबल बढाउन तथा केही राहत प्रदान गर्नका लागि फलफूल सहयोग गरेको महतले बताए । उनले राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराकासाथ खेलाडीको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न प्रतियोगितामा खेलाडीलाई सहभागी गराउँदै आएकोमा शुभकामना व्यक्त गरेका छन् ।
प्रशिक्षक लामाले हेटौंडा–४, हुप्राचौरमा नियमितरुपमा ८० जना खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहेका छन् । लामाका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीमध्ये ३० जना जुनियर र १६ जना सिनियर खेलाडी रहेका छन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई नियमित एक घण्टादेखि डेढ घण्टासम्म प्रशिक्षण दिने गरेको उनले बताए । उनले महिला खेलाडीलाई मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगितामा सहभागी गराएका थिए ।
गतवर्ष भारतको सिक्कीममा भएको इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगितामा खेलाडी सहभागी गराएर नेपालको लागि उपाधि दिलाउन सफल भएकाथिए । प्रशिक्षक लामा एएफसी ‘बी’ लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा एकेडेमीका खेलाडी तथा संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।







