१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघको प्रादेशिक भेला
हेटौंडा-१३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला सकिएको छ ।सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुईदिने दोस्रो प्रादेशिक भेला बुधबार सकिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार उद्घाटन गरेको कार्यक्रम बुधबार सकिएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले २०८२ जेठ १३ र १४ गते हेटौंडामा आयोजना गरेको बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारी, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेशस्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थितिमा भएको भेलाले वृहत छलफल गरी उठान गरेका विषयलाई समेटेर १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशील रहन यो भेला प्रतिवद्ध छ ।
२.पत्रकारको जीवनरक्षा, स्वतन्त्ररुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ ।
३. तीनवटै तहका सरकारलाई सञ्चारक्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चारक्षेत्रको विकास, सम्वद्र्धन र प्रवद्र्धन गर्न यो भेला जोडदार माग गर्दछ ।
४. श्रमजीवि पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य वीमा र दुर्घटना बीमामा समेट्ने लागायत सामाजिक सुरक्षका कार्यक्रममा समेट्न यो भेला सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ ।
५. स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्यक्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्यरुपमा उपलब्ध गराउन र समानुपातिकरुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ ।
६. बागमती प्रदेशका पत्रकारलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतकासरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
७.सञ्चारकर्मी र सञ्चार माध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
८. बागमती प्रदेशस्तरमा प्रशिक्षण केन्द्र र जिल्लास्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरी सञ्चारक्षेत्रको प्रवद्र्धनमा काम गर्न यो भेला जोडदार माग गर्दछ ।
९. सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबैखाले संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन यो भेला सरकारसँग माग गर्दछ ।
१०. बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन यो भेला माग गर्दछ ।
११. महिला र अपा·ता भएका व्यक्तिले संचालन गरेका स्वरोजगारमूलक संचारमाध्यमलाई र महिला र अपा·ता भएका संचारकर्मीलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१२. विपद र द्वन्द्वको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारलाई सुरक्षासहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।
१३ .मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न यो भेला माग गर्दछ ।







