राक्सिराङ गाउँपालिकामा मनसुन पूर्वतयारी थालियो
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनसुन पूर्वतयारी थालिएको छ । आउँदै गरेको मनसुनमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न विपद् व्यवस्थापन बैठक बसेर आवश्यक पूर्वतयारी थालेको हो ।बैठकमा चट्याङ पूर्वसूचना प्रणालीको जडान, भाँडाकुँडा तथा सिरक–डसना खरिद, डढेलो व्यवस्थापन सम्बन्धी तालिमको सञ्चालन तथा प्रभावितहरुलाई राहत वितरण लगायतको कार्यगरिएको थियो ।
बैठकले प्रि–मनसुन अवधिमा आउने हावाहुरी तथा भारी वर्षाका कारण हुनसक्ने क्षतिको आँकलन गरी पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा संलग्न स्वयंसेवकलाई सुरक्षा निकायको समन्वयमा कृत्रिम अभ्यास सहितको पुनरताजगी तालिम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
विपद्को कारण क्षति पुगेका मोटर बाटोलाई ग्राभेल गर्ने, हेलिप्याड, खानेपानी मुहान र पाइपलाइनको सुरक्षा, खुला ठाउँ तथा आश्रयस्थलको व्यवस्थापनमा विशेष ध्यान दिने, सूचनाप्रति चनाखो रहने र क्षति भएका घटनाहरु तत्काल नगरप्रहरीलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ । बैठकमा गाउँपालिका अध्यक्षराजकुमार मल्लले प्राकृतिक विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वय अपरिहार्यरहेको भन्दै समुदायस्तरमा समेत सजगता र सहभागिता जरुरी रहेको बताए ।
‘विपद् पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार हो, हामी सतर्क र सशक्त भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । बैठकमा सहभागी सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख पदमबहादुर बस्नेत, वडाअध्यक्षहरु, रेडक्रस प्रतिनिधि, प्रहरी चौकी चैनपुर, नगरप्रहरीलगायतको उपस्थिति रहेको थियो ।







