हेटौंडा–१ मा वृहत् निःशुल्क स्वास्थ्य शिविर
हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आयोजना तथा नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा विहीबार जरुवाटोलस्थित नकौली शहरी स्वास्थ्य केन्द्रमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा कूल दुईसय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन् । वडा कार्यालयको आयोजनामा वडाको जरुवाटोल र नकौली बाँझोडाँडा गरी दुई स्थानमा शिविर सञ्चालन थालिएको हो ।
पहिलो दिन दुईसय ७५ जनाले सेवा लिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । शिविरमा स्त्रीरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन, महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण, महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान, रिङ प्रेसरी राख्ने सेवा, लामो अवधिको परिवार नियोजन साधन इम्प्लान्ट÷आईयुसीडी राखने, यौन रोगसम्बन्धी उपचार तथा परामर्श, स्तन क्यान्सरसम्बन्धी परामर्श एवम् परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाल परिवार नियोजन संघका प्रबन्धक ममता श्रेष्ठले जानकारी दिइन् ।
शिविर उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले महिलाहरुले आफ्नो स्वास्थ्यमा आउने समस्या लुकाएर बसेका कारण धेरै परिवारमा समस्या सिर्जना भइरहेको बताए । उनले महिलामा हुने पाठेघरसम्बन्धी समस्याको बेलैमा पहिचान गरी उपचार गरेमा सुखी परिवार बनाउन टेवा पुग्ने बताइन् । रोग लुकाएर बसेका महिलाहरुलाई यस्ता शिविरले रोग पहिचान गरेर निरोगी भएर जिउन मद्दत पुग्ने उनको धारणा थियो ।
वडा अध्यक्ष न्यौपानेले भौतिक पूर्वाधारको विकासबाट जनताले सेवा त पाउँछन् तर, जनता नै स्वस्थ नभए ती विकास निर्माण निरर्थक हुने धारणा राखे । चालु आर्थिक वर्षमा वडाको जरुवाटोल र नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडामा गरी दुईवटा शिविर आयोजना गरिएको उनले बताए । उनका अनुसार भोलि १७ गते शनिबार नकौली बाँझोडाँडास्थित स्वास्थ्य केन्द्रमा यस्तै शिविर आयोजना हुने उनले बताए ।
वडाअध्यक्ष न्यौपानेको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य मनु दाहाल, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निगमलाल श्रेष्ठ, जिल्ला अध्यक्ष ईश्वर पण्डित, १ नं. वडा सचिव शान्ता लौडारी, स्वास्थ्य व्यवस्थापन समिति हेटौंडा १ का उपाध्यक्ष बेगम बराललगायतको आतिथ्यता थियो ।







