बागमती खोलाले सवारीसाधन बगायो
हेटौंडा-कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाले दुई वटा सवारीसाधन बगाएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि एउटा तेल ट्यांकर र एउटा डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ । बाराको अमलेखगञ्जबाट डिजेल बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।
ट्यांकर चालक वीरगंज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हामफालेर ज्यान जोगाउन सफल भएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । यस्तै वीरगंज भन्सारबाट सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार दुबै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन ।







