कैलाशका अंग्रेजी शिक्षकलाई पुनर्ताजगी तालिम

साझाकुरा
२०८२ जेष्ठ १७, शुक्रबार १०:३२

हेटौंडा- कैलाश गाउँपालिकामा कार्यरत अंग्रेजी शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजना भएको आधारभूत, निमावि र माध्यमिक विद्यालयका अंग्रेजी शिक्षकलाई चारदिने पुनर्ताजगी तालिम प्रदान गरिएको हो । विहीबार भएको तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दिगो विकास लक्ष्यको लागि शिक्षा क्षेत्रको ठूलो भूमिका रहने भएकाले शिक्षाक्षेत्रमा लगानी गर्दै आइरहेको बताए ।

उनले शिक्षामा लगानीअुनरुप नतिजा निकाल्न समय समयमा यस्ता पुनर्ताजगी तालिमको आयोजना गर्दै आइरहेको बताए । ‘प्रअहरुलाई पनि सिकाईको लागि तालिम भ्रमण जस्ता क्रियाकलाप गर्दै आइरहेका छौं, र आगामी दिनहरुमा पनि गर्नेछौं,’ अध्यक्ष मुक्तानले भने ।

शिक्षक र विद्यार्थीको सामिप्यता ज्यादा हुनुपर्छ, हाम्रो क्षेत्रमा पढाईका विधिहरुमा केही परिवर्तन गर्दै अध्यापन गराउन अध्यक्ष मुक्तानले शिक्षकलाई आग्रह गरेका छन् । भौगोलिक विकटता छ, त्यसमा पनि अभिभावकमा चेतनाको कमी छ, सोहीअनुरुप शिक्षामा विस्तारै परिवर्तन गरेर पढाउनुपर्ने बताए । विद्यालयका पूर्वाधारमै समस्या छ, त्यसले पर्याप्त मात्रामा सुविधा भएको तालिम केन्द्र नभएको अवस्थामै छिट्टै नै आवासीय व्यवस्था सहित तालिम केन्द्र सञ्चालन गर्ने सोच रहेको अध्यक्ष मुक्तानले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पुनर्ताजगीले थप सोचविचार र पठनपाठनमा परिवर्तन हुनेमा विश्वास व्यक्त गरेका थिए । उनले समृद्ध कैलाश बनाउन शिक्षाको भूमिका महत्वपूर्ण रहने भएकाले शिक्षकको सकरात्मक सोचले विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउन सक्ने बताए । तालिमका प्रशिक्षक सूर्यप्रसाद घिमिरेले तालिमपश्चात भएको परिवर्तनलाई सुरुमै विद्यार्थीले आभाष हुनेगरी कार्यान्वयन गर्न आग्रह गरे । सीपलाई विद्यार्थीसँगै अन्य शिक्षकसँग पनि साट्न सकिने घिमिरेले बताए । कार्यक्रममा सहभागीको तर्फबाट शिक्षकद्धय गीता थपलिया र अर्जुन राईले अनुभव प्रस्तुत गरेका थिए ।

कालिका माध्यमिक विद्यालय नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल, शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख समीर जोशी, प्रशिक्षकद्वय घिमिरे र विवशजंग थापा, शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारी, स्रोतशिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । तालिममा ४५ जना शिक्षकको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*