थाहा–११ मा ४० लाख लगानीको गार्मेन्ट सञ्चालनमा
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका–११ को टिष्टुङ नौखण्डेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । विइङ युथको आर्थिक सहयोगमा थाहा–११ र १२ का महिलालाई सिलाइकटाइ तालिम दिएसँगै स्थानीय युवा वसन्त कार्कीको टिमले व्यक्तिगत लगानीमा गार्मेन्ट सञ्चालनमा ल्याएको हो । गार्मेन्ट उद्योग सञ्चालनको सुरुवात गर्दै थाहा–१२ का वडाअध्यक्ष टीकाराम स्याङ्तानले विइङ युथले दिएको ८ महिने सीपमुलक तालिमको सदुपयोग भएको बताए । विइङ युथ र थाहा नगरपालिकाको लागत साझेदारीमा थाहा–११ र १२ का ३५ जना महिला र केही पुरुषलाई ८ महिने सिलाइकटाइ तालिम दिइएको थियो ।
कार्यक्रममा थाहा नगरका सामाजिक विकास अधिकृत अनिल लामिछानेले भोलिका दिनमा पालिकाभित्र आवश्यक कपडाहरु यही प्रयोग गर्ने आधार तयार पार्न सुझाव दिँदै रेडिमेट कपडा बाहिरबाट ल्याउन नपरोस् र थाहाकै दिदीबहिनीले उत्पादन र सिलाई गरेको कपडा लगाउन पाइने बिश्वास व्यक्त गरे । गार्मेन्टबाट थाहा–११ र १२ का महिला दिदीबहिनीले सीपको सदुपयोग मात्र गर्न होइन रोजगार प्राप्त गर्नेमा विश्वास लिएका छन् ।
थाहा नगरपालिका–३ का कार्की सहितको टिमले संचालनमा ल्याएको गार्मेन्टको लागत ४० लाख रुपैयाँ रहेको कार्कीले जानकारी दिए । पहिलोचरणमा गार्मेन्टमा १० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । विइङ युथ संस्थाका अध्यक्ष समेत रहेका कार्कीले सीप सिक्न र सिकेका सीपको सही सदुपयोग गर्न सबैलाई आग्रह गरे । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट, झोलालगायत तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको छ ।
गार्मेन्ट उद्योग संचालनसँगै थाहा नगरपालिका वडा न ११ र १२ का महिला तथा पुरुषको लागि लक्षित सीपमुलक तालिमको समापन गरिएको छ । विइङ युथको आयोजनामा संचालित ८ महिने सिलाइकटाइ तालिमको समापन गरिएको थियो । संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा–१२ का अध्यक्ष स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो । थाहा–११ का पूर्वअध्यक्ष किरणमान बल, थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, दातृसंस्था लक्जबर वेल्सका प्रतिनिधि लगायत उपस्तिथि रहेको थियो ।तालिममा सहभागीलाइ प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको बारेमा विइङ युथका कार्यक्रम संयोजक मनिषा बस्नेतले प्रकाशपारेका थिए ।







