बालश्रम अन्त्यको लागि बाल परामर्श भेला
हेटौंडा- बालश्रमबिरुद्धको बिश्व दिवसको अबसरमा बालश्रम न्युनीकरण गर्ने उद्देश्यले श्रमिक बालबालिकाको पीडा र अनुभब सहितको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न श्रमिक बालबालिकाको बाल परामर्श भेला काठमाडौंमा सम्पन्न भएको छ । परामर्शात्मक भेलामा सहभागी बालबालिकाले बालश्रममा संलग्न हुँदा भोगेका हृदयबिदारक अनुभब सार्बजनिक गरेका थिए ।
सिबिस, राष्ट्रिय बालसंरक्षण संजाल, स्वतन्त्रता अभियान, बालकल्याण समाज मकवानपुर, बिश्वास नेपाल, नयाँ पाइला, साथसाथ, चाईल्ड नेपाल, एसपिसिएसएन, ईस्थर बेन्जामिन स्मृति संस्था, चाईल्ड नेटबर्क, युवालय, लुनिभा बाल सरोकार केन्द्र, भ्वाईस अफ चिल्डेन, एटविन, कन्सोर्टियम नेपाल, शक्ति समुह, एनसिएफएलजि फोरम, रक्षा नेपाल, जेसिवाईसिएन, सिजोप, गुडवेभ, सिडिएसलगायतको ३० बटा भन्दा बढी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममार्फत घरेलु काम, गलैचा उद्योग, होटल रेष्टुरा, यातायात, डान्सबार तथा मनोरन्जन क्षेत्रजस्ता जोखिमयुक्त क्षेत्रमा काम गर्न बाध्य बालबालिकाले पीडा ब्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन् । कार्यक्रममा सहभागी बालबलिकाले बिहान ३ बजे उठेर काम गर्न बाध्य पारिएको, दिनभर श्रम गरे पनि पारिश्रमिक नपाएको, हिंसा सहनु परेको विद्यालय जान बञ्चित हुन परेको, भोकभोकै सुत्नु परेको जस्ता गम्भिर अबस्था उजागर गरे । बालश्रम न्युनीकरणका लागि आवाज बुलन्द पार्ने उद्देश्यले आयोजित बालश्रमिक बालभेलामा उनीहरुले प्रधानमन्त्री समक्ष बुझाउने गरी ध्यानाकर्षणपत्र तयार पारेका छन् ।
श्रमिक बालबालिकाद्वारा प्रस्तुत गरिएका प्रमुख मागमा सबै बालबालिकालाई निशुल्क तथा अनिवार्य शिक्षाको ग्यारेन्टी, बालमैत्री वातावरणको निर्माण, बालश्रमको जडमा रहेको पारिवारिक आर्थिक अवस्था सुदृढिकरणको लागि रोजगारी र सहुलियतपूर्ण कार्यक्रमको उपलब्धता, कार्यस्थलमा हुने हिंसा, दुब्र्यवहार र शोषणबिरुद्ध कडा कार्बाही तथा बालश्रमिकको सुरक्षाको लागि बिशेष निगरानी संयन्त्रको निर्माण साथै श्रमबाट मुक्त भएका बालबालिकालाई पुन शिक्षामा फर्काउने परामर्श सेवा तथा मानसिक स्वास्थ्य सेवाको सुनिश्चितता समावेश छन् ।
सिबिसको बालसल्लाहकार कृष्ण शाह, एडभोकेसी एडभाईजर युबराज घिमिरे, राष्ट्रिय बालसंरक्षण संजालको अध्यक्ष ज्ञानभक्त महर्जन, सिबिसको मनिता धरेल, उम· मैनाली, प्रमोद आचार्य, नयाँ पाइलाका बिष्णु पनेरु, चाईल्ड नेपालको तोयानाथ तिवारी, सानको श्रद्धा डंगोल, एसपिसिएसएनकी दीक्षा खनाल, साथसाथको सरस्वती थापा, मिडियाको गोबिन्द खड्का लगायत समाजिक अभियन्ताले बालश्रम अन्त्यको लागि सरकार र नागरिकसमाज संस्थाबीच कार्यगत एकता गर्दै कानुनको कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र दिन लागिएको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बताए ।
बालश्रमबिरुद्धको बिश्व दिवसको अवसरमा नागरिक सस्थाले जुन १ देखि जुन १२ सम्म बाल अधिकारको संरक्षण, सबै बालबालिकालाई गुणस्तरीय शिक्षा पहुँचको सुनिश्चितता र बालश्रम अन्त्यको लागि जनचेतना फैलाउने उद्देश्यले बालमैत्री पोष्टर प्रदर्शनी, सचेतनामूलक ¥याली, बालअधिकारकर्मीको बक्तृत्वकला प्रतियोगिता र सारोकारवालाबीच अन्र्तक्रिया संचालन गरिने बताइएको छ ।







