वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम
हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका परिवारजनका लागि ‘वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम’ सम्पन्न भएको छ ।रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम अकुुर नेपाल हेटौंडा समितिको आयोजना तथा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन इन्टरनेशनल कर्पोरेशन एजेन्सी (कोइका) र के–हामी परियोजनाको सहकार्यमा भएको हो । कार्यक्रमका प्रमुखअतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले देशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनले विदेश जाने युवाका लागि सीप विकास तथा फर्केका श्रमिकलाई उद्यमशीलता विकासका लागि ऋणको व्यवस्था गरिएको जानकारी दिए । अंकुर नेपाल हेटौंडा समितिका अध्यक्ष किशोरकुमार डंगोलको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा के–हामी परियोजनाको प्रशासनिक सहायक सिम्रन शाहले कोरियाली सहयोग र प्रवासी श्रमिकका परिवारलाई लक्षित योजनाको प्रस्तुति दिए ।
अंकुर नेपाल केन्द्रीय उपाध्यक्ष बिदुरराज उप्रेतीले कोरियाली श्रमिकको जीवन र चुनौतीबारे चर्चा गर्दै परिवारलाई सकारात्मक ऊर्जाका साथ अघि बढ्न आग्रह गरे । कार्यक्रम संयोजक एवम् प्रशिक्षक माधव सापकोटाले ‘घर र परिवारको दायित्व’ विषयमा प्रशिक्षण दिए । कोरियन रिटर्नी उमेश गौतमले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको मुख्य आकर्षण वित्तीय साक्षरताको विषयमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रशिक्षक अनिल श्रेष्ठ सहजीकरण गरेका थिए । उनले विदेशबाट आउने रेमिट्यान्सको व्यवस्थापन, बजेट निर्माण र दीर्घकालीन आर्थिक योजनाबारे जानकारी दिए ।
कार्यक्रममा कोरियन संस्कृतिकक्षका विद्यार्थीले कोरियन गीत र नृत्य प्रस्तुत गरेका थिए । समापनमा अध्यक्ष डंगोलले कार्यक्रमको सफलताको लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।







