नवोदयको आयोजनामा भएको मुन कार्यक्रम सम्पन्न

साझाकुरा
२०८२ जेष्ठ १९, आईतवार १२:१७

हेटौंडा- हेटौंडा–४ स्थित नवोदय शिशुसदनको आयोजनामा भएको नमूना संयुक्त राष्ट्रसंघ मुन कार्यक्रम सम्पन्न भएको छ ।जेठ १५ गतेदेखि सुरु भएको कार्यक्रम जेठ १७ गते शनिबार सम्पन्न भएको हो । संयुक्त राष्ट्रसंघको काम गर्ने शैली, कूटनीतिक छलफल प्रक्रिया र निर्णय प्रणालीका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विद्यालयले कार्यक्रम गरेको हो ।

परिषद्मा सदस्य राष्ट्रको भूमिकामा नवोदयसहित मकवानपुरका विभिन्न विद्यालय साथै मकवानपुरबाहिरका केही विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । परिषद्मा विद्याथीले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र विभिन्न देशका संयुक्त राष्ट्र प्रतिनिधिको बारेमा सिक्ने अवसर प्राप्त गर्ने विद्यालयले जनाएको छ । नमुना परिषद्मा विद्यार्थी वास्तविक संसारका समस्या समाधान गर्ने प्रयासमा लाग्ने विश्वास गरिएको छ ।

विद्यार्थीमा नेतृत्व विकास, सामूहिक छलफल लगायत विचार र धारणालाई पस्कन गतिविधिमा आधारित शिक्षालाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका माध्यमिक संयोजक सिएम रिमालले जानकारी दिए । तीन दिनसम्म चलेको परिषद्मा अन्तर्राष्ट्रिय सम्बन्धलगायत अन्तर्राष्ट्रिय नीतिनियम, योजना तथा समस्याको समाधानबारे विद्यार्थीले बृहत विश्लेषण गरेको रिमालले बताए । वार्षिकरुपमा हुने गरेको यो कार्यक्रम वास्तविक संयुक्त राष्ट्रसंघलाई आधार मानेर सम्पन्न हुने गरेको कार्यक्रममा संयुक्त राष्ट्रसंघमा हुने सम्पूर्ण गतिविधिलाई अनुकरण गर्ने गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गरेका थिए । राष्ट्रसंघका विभिन्न निकायको कार्यक्षेत्र भिन्दाभिन्दै हुन्छन् र तिनै कार्यक्षेत्रका मुख्य पूर्वनिर्धारित समस्यामा वृहत छलफल गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनको तर्फबाट किशोर स्वास्थ्यसेवाका लागि वातावरण सुधार गर्दै गर्भपतनको रोकथामका लागि छलफल भएको थियो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट युद्ध अपराधका लागि व्यापक रणनीति अपनाउने आवश्यकतालाई पुनः पुष्टि गर्दै जसमा आणविक निशस्त्रीकरण र द्वन्द्वग्रस्त क्षेत्रमा जटिल संकटमा विशेष ध्यान दिनेबारे छलफल गरिएको थियो । यस्तै संयुक्त राष्ट्र मानवअधिकार परिषद, संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र वातावरण कार्यक्रमको नमुना प्रतिनिधि बनाई विभिन्न विषयमा छलफल भएको थियो ।

परिषद्मा नवोदयसँगै मकवानपुर बाल विद्यासदन र कमाने एकेडेमीका साथै नवलपरासरीबाट आरम्भ एकेडेमी, बुटवलबाट एपेक्स विद्यालय, रौतहटबाट नेपाल पुलिस स्कुल, पोखराबाट पोखरा लर्नर एकेडेमी, चितवन सौराहाबाट इन्टरनेशनल स्कुल नमुना परिषद्मा सहभागी बनेका थिए । नमुना संयुक्त राष्ट्र परिषद्को महासचिवको भूमिका निकेश श्रीवास्तवले निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*