हेटौंडामा विश्व दुध दिवस मनाइयो

साझाकुरा
२०८२ जेष्ठ २०, सोमबार १२:१३

हेटौंडा- हेटौंडामा २५ औं विश्व दुध दिवस मनाइएको छ । ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने नाराका राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा आइतबार दिवस मनाइएको हो । आइतबार बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको चौकीटोलदेखि सुरु भएको प्रभातफेरी ¥याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुखअतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नको लागि सरकार प्रतिवद्ध भएको र सबै पक्षबाट ईमान्दार प्रयास गरेर किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारी, बागमती प्रदेश पशुसेवा बिभागका महानिर्देशक डा. रामानन्द तिवारी, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौंडेल, केन्द्रीय दुग्ध सकारी संघका अध्यक्ष अम्बबहादुर कुँवर, बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेंल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्टता हाँसिल गरेका ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रुपन्देहीका यज्ञमूर्ति खनाल उत्कृष्ठ कृषकको रुपमा सम्मनित भएका छन् । उनले एक सय पचास भन्दा बढी गाई पालेर दैनिक ८०० लिटर भन्दा बढी दुध उत्पादन गरी बिक्री गर्दछन् । यसैगरी भवानी दुग्ध उत्पादक सहकारी संस्था र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ सम्मनित भएका छन् । दुग्ध उद्योगीतर्फ नेपाल कृषि तथा दुग्ध विकास केन्द्र झापाका हेमचन्द्र खनाल, मोर्डन डेरी भक्तपुरका रामप्रसाद त्यात, अनमोल डेरी ईलामका गोविन्द खड्का सम्मानित भएका छन् ।

टक्सार म्याग्जिनका पत्रकार रबि थापालाई सञ्चारकर्मी सम्मान र डेरीबिज्ञ मदनमोहन दाशलाई बिशेष सम्मान र मकवानपुर जिल्ला सहकारी संघलाई प्रशंशापत्रसहित सम्मान गरिएको थियो । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपयोगमा बृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालेको हो ।

यसै सन्दर्भमा नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन थालेको हो । दुध दिवस २०२५ राष्ट्रिय दुग्ध विकास बोर्डको साथै पशुसेवा बिभाग, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साईन्स एसोसियसनको सहकार्यमा मनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*