प्लास्टिकका बोत्तलसँग बिरुवा साट्ने कार्यक्रम सम्पन्न
हेटौंडा-विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत, हेटौंडा उपमहानगरपालिका–९ मा ‘प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान’ सोमबार सम्पन्न भएको छ । टोल विकास संस्था नगरसमन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल विकास संस्था वडासमन्वयसमिति, हेटौंडा–९ र पशुपति हेल्थ क्लबको संयोजनमा भएको हो । कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रयोग गरिएका प्लास्टिकका बोत्तल संकलन गरी फलफूलका बिरुवा वितरण गरिएको थियो ।
टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा एवम् हेटौंडा उपमहा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नगरप्रमुख लामाले कार्यक्रम अत्यन्तै रचनात्मक र प्रभावकारी भएको भन्दै प्रशंसा गरिन् । ‘प्लास्टिकको प्रयोग न्यून गर्दै हरियाली बढाउने यस्ता कार्यक्रम अत्यन्त प्रेरणादायी छन् ।
यस्तो कार्यक्रम प्रत्येक वडामा सञ्चालन गर्न जरुरी छ, त्यसका लागि म नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले भनिन् । कार्यक्रममा २२० जना नागरिकले प्रयोग गरिएका प्लास्टिकका बोत्तल संकलन गरेर, ५ वटा बोत्तल बराबर १ फलफूलको बिरुवा प्रदान गर्ने व्यवस्था अनुसार फलफूलका बिरुवा प्राप्त गरेका थिए ।
वितरण गरिएका बिरुवामा आँप, अमला, अम्बा, कागती, लिची आदि जात समावेश थिए । संकलित प्लास्टिकका बोत्तललाई सुरक्षित र वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्दै पुनः प्रयोगयोग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइने जानकारी आयोजकले दिएका छन् ।







