विद्यालयको अनुगमन सुरु
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाको विभिन्न तहका विद्यालयको अनुगमन सुरु भएको छ । शैक्षिक सत्र सुरु भएसँगै गाउँपालिकाले अनुगमनलाई तीव्रता दिएको हो । विगतका वर्षहरुझै यसवर्ष पनि विद्यालयको वास्तविक अवस्थाबारे जानकारी लिन अनुगमनको पाटोलाई तीव्रता दिइएको गाउँ शिक्षा समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । ‘शैक्षिक सत्र सुरु भयो, विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थितिका साथै भर्ना अभियानको अवस्थाबारे जानकारी लिनको लागि अनुगमन गरेका हौं’ अध्यक्ष मुक्तानले भने ।
पछिल्लो समय शिक्षा सेवा आयोगबाट नयाँ शिक्षक आउनु भएको छ, विद्यालयमा शिक्षकको उपस्थितले विद्यार्थीमा उत्साह बढेको अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाका स्रोतशिक्षक ध्रुवराज विष्टले कैलाश ३, ४, ९ र १० वडास्थित विभिन्न तहका १२ वटा विद्यालयको वस्तुस्थिति अनुगमन गरेका थिए । विद्यालयमा नयाँ शिक्षकको आगमनले गर्दा विद्यार्थीमा छुट्टै खालको उत्साह छाएको स्रोतशिक्षक विष्टले बताए ।
विद्यार्थी संख्या अति न्यून भएका विद्यालयलाई मर्ज गर्नुपर्ने र विद्यार्थी बढी भएका तथा भौगोलिक रुपमा केन्द्रमा रहेका विद्यालयको कक्षा तहवृद्धि गरिनुपर्ने विष्टले बताए । अन्य वडाको अनुगमनको क्रम जारी रहेकाले गाउँपालिकामा शिक्षा क्षेत्रको विकासमा लगानी भइरहेको अवस्थामा विषयगत शिक्षक दरबन्दी अभावले पठन पाठनमा झनै समस्या देखिरहेको उनले बताए ।
विद्यालयमा विद्यार्थी भर्ना र नियमित उपस्थितिलाई सुनिश्चित गर्न विद्यालय प्रशासन, व्यवस्थापन समिति र सम्बन्धित वडालाई गाउँ शिक्षा समितिले आग्रह गरेको छ । पछिल्लो समय स्थानीय सरकारले कैलाशको विद्यालय शिक्षाबारे विशेष चासो राख्दै विद्यालयको नियमित रुपमा अनुगमन, त्यहाँ भएका समस्या र समस्याको समाधान गर्दै आइरहेको छ ।







