जातीय विभेद उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

साझाकुरा
२०८२ जेष्ठ २३, बिहीबार १२:०३

हेटौंडा-जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा थाहा नगरपालिकाले अन्तरक्रिया गरेको छ ।शिखरकोटस्थित विकास घरमा सम्पन्न कार्यक्रममा जातीय विभेद अन्त्य र समतामूलक समाज निर्माणका विषयमा छलफल गरिएको हो । सहभागीले संविधानले विभेद निषेध गरे पनि व्यवहारमा अझै जातीय भेदभाव कायम रहेको बताएका छन् । उनीहरुले समाजमा चेतना अभाव, गरिबी र दलित नेताहरुको निष्क्रियता जस्ता कारणले विभेद अन्त्यमा चुनौती आइरहेको बताएका थिए । थाहा नगरप्रमुख विष्णु बिष्टले कानुन मात्र पर्याप्त नभई मानसिकता परिवर्तन जरुरी रहेको बताएका छन् ।

दलित मुक्ति मोर्चाका प्रदेश नेता जमिन दियालीले दलितको मुक्ति सत्तामा पहुँचबिना सम्भव नभएको भन्दै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । नेकपा एमाले नगरअध्यक्ष सुरेन्द्रमान प्रधानले कानुन कार्यान्वयनमा समस्या रहेको बताए । माओवादी केन्द्रका नगरअध्यक्ष विनोदकुमार लामाले सोच नबदलिएसम्म विभेद अन्त्य सम्भव नरहेको धारणा राखेका छन् ।

कार्यक्रममा दलित समुदायभित्रकै आन्तरिक भेदभाव र नेतृत्वप्रति प्रश्न उठाइएको थियो । कार्यक्रम नगर दलित सञ्जालका संयोजक अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न भएको हो । सञ्चालन केशव सुनारले र स्वागत अशोक खातीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, विभिन्नराजनीतिक दलका नेता, प्रहरी, शिक्षक, सहकारी संस्था, समाजसेवी तथा सरोकारवाला व्यक्तिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*