‘विपद् नियन्त्रणमा तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक’

साझाकुरा
२०८२ जेष्ठ २३, बिहीबार १२:०७

हेटौंडा- बागमती प्रदेशमा प्राकृतिक तथा मानवसिर्जित विपद्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपतको पूर्वतयारी र विपद्पछिको उद्दार राहतलगायत सवालमा छलफल गरिएको हो । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक संघ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा सहभागी वक्ताले विपद् नियन्त्रणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताएका थिए । पछिल्ला वर्षको विपद्का घटनालाई हेर्दा बागमती प्रदेशमा पहिरोजन्य प्रकोपको जोखिम उच्च रहेको पाइएको छ ।

बागमती प्रदेशमा कमजोर भूबनोट, अवैज्ञानिक भूउपयोग, वातावरणीय प्रभाव अध्ययनबिना नै सडकलगायतका पूर्वाधारको निर्माण, पानीको स्रोतको कमजोर व्यवस्थापन लगायतका कारण यस प्रदेशमा क्षति वृद्धि भएको औँल्याइएको छ । गत वर्षको असोजमा भएको बाढीपहिरोका कारण प्रदेशभरमा १२ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो । सहभागीले बाढीपछिको उद्दार रराहत प्रभावकारी नभएकाले प्रदेशसभा र प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

कार्यक्रममा प्रदेशसभाका सदस्य भारती पाठकले विपत् व्यवस्थापन कोषको व्यवस्था हुनुपर्ने भन्दै विपद्का घटना न्यूनीकरणका लागि स्थानीय सरकार र समुदायसँग सहकार्यमा जोड दिइन् । यस्तै प्रदेशसभा सदस्य रुकु चौलागाईंले अवैध खानी, हचुवाका भरमा हुने विकास निर्माणले विपत्ति आइलाग्ने गरेको भन्दै खानी सञ्चालकको आश्वासनमा नागरिक पर्दा पनि क्षति बढ्ने गरेको बताइन् । मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी नेपालीले पालिकाले सबै वडामा स्वयंसेवकको व्यवस्था गरेको भन्दै तत्कालीन सहयोग पालिकाले गर्ने भए पनि दीर्घकालीन काममा प्रदेश र संघले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संसदीय मामिला पत्रकार मञ्चका अध्यक्षराममणि दाहाल, स्थानीय बासिन्दा लीलाराज न्यौपाने, वासुदेव चौलागाईं, अमरबहादुर मल्ल, वेदनाथ हुमागाईं लगायतले प्रदेश सरकार र प्रदेश सभाले विपत् न्यूनीकरण, विपत् पूर्वतयारी राहत र पुनस्र्थापनालाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*