खानेपानीका लागि साझेदारी संस्थासँग सहकार्य हुन्छः अध्यक्ष मुक्तान
हेटौंडा- कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले गाउँपालिकाभित्र खानेपानीक्षेत्रमा काम गर्ने विभिन्न साझेदारी संस्थासँग सहकार्य गरेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने बताएका छन् ।विहीबार गाउँपालिकामा आयोजित खानेपानी तथा पूर्णसरसफाई अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गरेर खानेपानीक्षेत्रको विकासमा गाउँपालिका लाग्ने बताए । दिगो विकासका लक्ष्यअनुसार सुरक्षित स्रोत, प्रयोग गरिने स्थानको उपलब्धता र आवश्यकता अनुसार प्रर्याप्त पानीका स्रोत भएमात्रै घरघरमा पानी लान सकिने उनले बताए । ‘हामीलाई सफा पानी भन्दा पनि सुरक्षित पानी आवश्यक पर्दछ, मानवस्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रसायनिकपदार्थ नभएको पानी हामीलाई आवश्यक हो’ अध्यक्ष मुक्तानले भने ।
पानीबाट विभिन्न रोगहरु लाग्ने भएकाले सुरक्षित पानीको लागि गाउँपालिकाले आवश्यक योजना बनाएर काम गरिरहेको उनले बताए । सरसफाईका कारण देशमा वार्षिक सयौं नागरिकको मृत्यु भइरहेको अवस्थामा योजना तर्जुमा तथा व्यवस्थापनको सूचकमा रहेर गाउँपालिकाले आवश्यक काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले स्थानीय सरकारको एकल अधिकारभित्र अनुसूची ८ मा उल्लेख भए बमोजिम आधारभूत स्वास्थ्य तथा सरसफाइलाई कार्यान्वयन गरिरहेको उनले बताए ।
‘गाउँपालिकाले खानेपानीको क्षेत्रका लागि ४ वटा साझेदारी संस्थासँग सहकार्य गर्दै आइरहेको छ, हामीले बजेट ल्याएपछि पनि एकपटक पुनः कार्ययोजना बनाई छलफल गर्नेछौं’ उनले भने । सीमान्तकृत वर्ग, जनजातिको बाहुल्यता रहेको कैलाशका नागरिकमा चेतनाको कमी रहेको अवस्थामा टोलबाटै सचेतना जगाउनुपर्नेमा उनले जोड दिए । शान्ति नेपाल संस्थाका संस्थापक अध्यक्ष डा. कृष्णमान श्रेष्ठले खानेपानी, पूर्णसरसफाई र स्वच्छताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पूर्णसरसफाईका सूचक, खानेपानी सरसफाई र स्वच्छताका असरहरु, पानीबाट लाग्ने विभिन्न रोगहरु, पानी शुद्धिकरणका घरेलु विधि, दीगो विकास लक्ष्यको १७ वटा लक्ष्यमध्ये ६ नम्बरमा रहेको स्वच्छ पिउने पानी तथा सरसफाईका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ४ का वडाध्यक्ष तिलक बहादुर मुक्तान, ७ का वडाध्यक्ष उदास ब्लोन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवनसिं घलान, १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, कार्यपालिका सदस्यहरु गोरीमाया भुलुन, सुन्तली सुनुवार, राममाया प्रजा, शान्ति नेपालका संस्थापक अध्यक्ष डा. श्रेष्ठ, नेपाल ग्रामीण पुनर्निमार्ण संस्था (आरआरएन)का कार्यक्रम संयोजक लिलबहादुर कार्की, प्रेमसेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, समाजका परियोजना संयोजक उद्धवबहादुर चेपाङलगायतको आतिथ्यता रहेको थियो ।







