सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनका लागि जिल्लातहमा पैरवी

साझाकुरा
२०८२ जेष्ठ २५, शनिबार १२:१७

हेटौंडा-सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनका लागि जनस्वास्थ्य कार्यालय मकवानपुरले जिल्ला तहमा पैरवी कार्यक्रम गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लिएको सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे र डिलेन्द्र बुढामगरले प्रस्तुतिकरण राखेका थिए । प्रस्तूतीकरणमा नीति निर्माणका सबै तहमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । शिक्षा, यातायात, खानेपानी, वातावरण, कृषिलगायत सबै क्षेत्रका नीतिहरुले व्यक्ति तथा समुदायको स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने भएकाले ती नीतिहरु निर्माण गर्दा स्वास्थ्यसम्बन्धी पक्षलाई विचार गर्नु आवश्यक रहेको प्रस्तूतीकरणमा जनाइएको छ । बागमती प्रदेश सरकारले ल्याएकोे सबै नीतिमा स्वास्थ्य नीति निर्देशिकाका आधारमा योजना समावेश गर्नाले स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागीले नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा स्वास्थ्यलाई प्राथमिकतामाराख्ने प्रतिबद्धता जनाएका छन् । सबै नीतिमा स्वास्थ्यको आधारभूत सिद्धान्तमा स्वास्थ्य समता, सामाजिक न्याय, दिगोपना र तथ्य सूचनायुक्त निर्णय प्रक्रिया समावेश छन् । यसले नीतिगत निर्णय समावेश गर्दा सबैभन्दा राम्रो उपलब्ध प्रमाणमा आधारित हुने, जोखिममा रहेका जनताका आवश्यकतालाई प्राथमिकता दिने र दीर्घकालीन सामाजिक, आर्थिक एवम् वातावरणीय प्रभावलाई सम्बोधन गर्ने प्रयास गर्दछ ।

सबै नीतिमा स्वास्थ्य निर्देशिका कार्यान्वयनको लागि क्षेत्रगत मन्त्रालयलाई आवश्यक नीति, कानुन र योजना निर्माण तथा कार्यान्वयनमा निर्देशन दिन र कार्ययोजना स्वीकृत गर्नेलगायतको कार्यका लागि प्रमुखसचिवको अध्यक्षतामा सबै नीतिमा स्वास्थ्य निर्देशक समिति रहनेछ व्यवस्थागरेको छ । समितिले वार्षिक कार्यक्रममा सबै नीतिमा स्वास्थ्य कार्यक्रम तय गरी लागु गर्न निर्देशन दिने, कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेटको सुनिश्चिता गर्न निर्देशन दिने, बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयनको अनुगमन गर्ने, विषयगत मन्त्रालयलाई नीतिगत तथा कार्यक्रमगत निर्देशन दिने लगायत कार्यहरु गर्ने गर्दछ ।बागमती प्रदेश सरकारको पहिलो आवधिक योजनामा सबै क्षेत्रको सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयनमा स्वास्थ्य सम्बन्धी विषयलाई समावेश गर्ने उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*