२० करोड रुपैयाँ बढीको लगानीमा खानेपानी योजना निर्माण हुने

साझाकुरा
२०८२ जेष्ठ २५, शनिबार १२:१९

हेटौंडा- हेटौंडामा २० करोड रुपैयाँ भन्दा बढीको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र संघिय सरकारको सहलगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो । उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तरगत ठुलो लगानीको काम हुने भएको हो । शुक्रबार हेटांैडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्षबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वाताबरणीय प्रभाव मूल्याङ्कनअन्तरगत रहेर संघीय सरकारले हेटौंडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्काअनुसार निर्माणपक्षले २० करोड ५६ लाख रुपैयाँमा २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौतापत्रमा नगरप्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माणपक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरि चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उपमहानगरको ३० र संघीय योजनाको ७० प्रतिशत लगानी रहने छ । २० करोड ५६ लाखको लगानीमा हेटौंडा–९ को बेदखोल्सीमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरिने छ । हेटौंडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ ।

योजनाअनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई ३ करोड रुपैयाँ खर्चेर यही योजनामा समाबेस गर्ने बताइएको छ । योजना सम्झौतामा नगरप्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाँडै खानेपानीको व्यवस्थापन मिलाउने कामम लाग्न निर्माण पक्षलाई सुझाव दिइन् । योजना निर्माण हुने क्षेत्रमध्य दुईवटा वडा १४ र १५ पछि उपमहानगरपालिकामा समावेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुबिधा दिने काममा पछि नपर्ने गरी काममा लाग्न नगरप्रमुख लामाले निर्देशन दिइन् । ‘तोकिएको समयमा काम सम्पन्न गर्ने गरी लाग्न जरुरी छ’ उनले भनिन् ।

सम्झौतामा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, योजनाका इन्जिनियर प्रदीप यादव, लेखाअधिकृत कपिल अर्याल, प्रबिधिक अजित चौलागाई, बोर्डका लेखाप्रमुख सञ्जय न्यौंपाने, वडाअध्यक्षहरुलगायतकोे उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*