हेटौंडा–६ चौघडा कालिपोखरीमा सप्ताह ज्ञानमहायज्ञ सुरु

साझाकुरा
२०८३ बैशाख २३, बुधबार १४:००

हेटौंडा- हेटौंडा–६ चौघडा कालिपोखरीमा वैशाख २२ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । डोलेश्वर महादेव पाथीभरा महाकाली रक्तदन्तिका दिव्यशक्तिधाम व्यवस्थापन समितिको आयोजनामा मन्दिर निर्माण तथा आवश्यक भूमि खरिद गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । धार्मिक आस्था र सामाजिक एकताको सन्देश फैलाउने लक्ष्यसहित सुरु गरिएको महायज्ञलेस्थानीयस्तरमा उत्साह थपेको छ । महायज्ञको उद्घाटन गर्दै नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले धर्म, संस्कार र परम्पराले समाजलाई एकताबद्ध बनाउने महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले धार्मिक कार्यक्रमले मानिसबीच आपसी सहयोग, सद्भाव र सहकार्यको भावना विकास गराउने उल्लेख गर्दै मन्दिर निर्माणकार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यस्ता धार्मिक अभियानले समाजलाई सकारात्मक दिशामा अघि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्र्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियानका रुपमा महायज्ञलाई लिएका बताएका छन् । कार्यक्रम समितिका अध्यक्ष शोभा घिमिरेको सभाध्यक्षतामा सञ्चालन भइरहेको सप्ताहमा दैनिक रुपमा भागवतवाचन, धार्मिक प्रवचन तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । वैशाख ३० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री ढुंगानाले कथावाचन गर्नेछन् । आयोजकका अनुसार महायज्ञबाट संकलित रकम मन्दिर निर्माण र भूमि व्यवस्थापनमा खर्च गरिनेछ । त्यसअघि कलशयात्राले चौघडा बजार परिक्रमा गरेको
थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*