‘एक गाउँ एक उत्पादनको अवधारणालाई पालिकाले कार्यान्वयन गर्नुपर्ने’
हेटौंडा, २३ जेठ÷ मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवद्र्धन समितिले स्थानीय सरकारसामु २१ बुँदे सुझाव सहितको प्रस्ताव गरेको छ ।जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न जिल्लामा कृषिक्षेत्रको समग्र विकासका लागि पालिकास्तरीय योजना तर्जुमा कार्यक्रममा सुझाव पेश गरिएको हो । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोहो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो । कृषि प्रवद्र्धन समितिका सदस्यद्वय विवेक सुवेदी र फेन्चु लामाले २१ बुँदे सुझावसहितको प्रस्ताव प्रस्तुतगरेका थिए ।
प्रस्तावमा प्रत्येक वडामा शीतभण्डारण केन्द्र र बीउबैंक निर्माण गर्ने, पशु तथा कृषि प्राविधिक अनिवार्यरुपमा नियुक्त गर्ने, दैनिक वा साप्ताहिक हाटबजार सञ्चालन गर्नुपर्ने, कृषिउत्पादनको न्यूनतम मूल्य तोक्ने, पशुपन्छी र कृषिबालीको बीमा अनिवार्य गर्ने, २० वर्ष निरन्तर कृषिमा संलग्न कृषकलाई पेन्सनको व्यवस्था गर्ने सुझाव समेटिएका छन् । त्यसैगरी उत्पादनको आधारमा अनुदानको प्रावधान लागु गर्नुपर्ने, कृषिउद्यमीलाई मल उत्पादन र वितरणमा पालिकाले पूर्णरुपमा सहयोग एवम् सहजीकरण गर्नुपर्ने, पालिकाभित्रका जडीबुटी पहिचान, प्रशोधन र बिक्रीवितरणमा ध्यान दिनुपर्ने र पालिकातहमा जडीबुटी संकलन केन्द्र निर्माण गर्नुपर्नेछ ।
पालिकातहमा सर्वपक्षीय कृषि प्रवद्र्धन समिति गठन गर्नुपर्ने, उर्वर र खाली जमिन पहिचान गरी स्थानीय कृषक समूहलाई जमिन उपलब्ध गराउनुपर्ने, कृषिउद्यमीको समस्या समाधान गर्नुपर्ने, एक गाउँ एक उत्पादनको अवधारणालाई पालिकाले कार्यान्वयन गर्नुपर्ने,रैथाने बीउको संरक्षण तथा विकासको लागि पालिकातहमा संरक्षण केन्द्र स्थापना गर्नुपर्ने, उत्पादित वस्तुको ग्रेडिङ, प्याकेजिङ र लेबलिङको व्यवस्था गर्नुपर्ने, लम्पी स्किन, खोरेतलगायत पशुचौपायामा लाग्ने रोगको भ्याक्सिन सहज उपलब्ध गराउन प्रभावकारी पहल हुनुपर्ने विषय समेटिएको छ ।
किसान परिचयपत्र लागु गरी बीउपुँजी उपलब्ध गराउनुपर्ने, कृषिउद्यम दर्ता तथा नवीकरण निःशुल्क गर्नुपर्ने, कृषिउद्यमीलाई खानेपानी तथा विद्युत जडानमा सहुलियन प्रदान गर्नुपर्ने, कृषिकर्जा तथा ब्याज अनुदान कार्यक्रम सुचारु गर्नुपर्ने सुझाव समितिले पालिकालाई दिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख घलानले मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले कृषिउपजमा न्यूनतम समर्थन मूल्य तोकेको उदाहरण दिदै सबै स्थानीय तहले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बागमती गाउँपालिका प्रमुख सर्केश घलान, बकैया गाउँपालिका प्रमुख धर्मराज लामिछाने, मकवानपुरगढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिका उपप्रमुख बालकुमार मल्ल, भीमफेदी गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेल, सशस्त्र प्रहरी बल १४ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबिक्रम शाह लगायतको उपस्थिति थियो ।







