कैलाशका केउरेनी–धुसा र पकनीलाई पूर्णसरसफाई घोषणा
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–१ को केउरेनी–धुसा र वडा नम्बर ६ का पकनीक्षेत्रका समूदायलाई पूर्णसरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै वडाका समूदायलाई घोषणा गरेका हुन् । उनले राज्यको नीतिअनुरुप एक घर एक धारा भन्ने छ सोहीअनुरुप साझेदारी संस्थाको सहकार्यमा सरसफाई र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको कार्यलाई तीव्रता दिइएको बताए ।
‘हामीले अन्य वडामा पनि घोषणा गर्दै आइरहेका छौं, सूचकहरु पुरा भएका अन्य समूदाय घोषणाको तयारीमा समेत रहेका छौँ’ अध्यक्ष मुक्तानले भने, ‘घरघरमा सुरक्षित पानी पु¥याउने लक्ष्य हाम्रो छ, प्राथमिकताको आधारमा खानेपानीको योजना कार्यान्वयन गर्नेछौं ।’ दीगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनैपनि कसुर बाँकी नराखी कार्य गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे ।
उनले पानीका मुहानको बीमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने बताए । खानेपानी बोर्ड स्थापना गरी पालिकाभर दीगो रुपमा सञ्चालन हुने मुहानको पहिचान गरी संरक्षण गरिने अध्यक्ष मुक्तानले बताए । वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनी–धुसा समूदायको घोषणा गरिएको हो । उनले घोषणासँगै धारा र शौचालय सरसफाईमा ध्यान दिदैँ फिल्टर प्रयोग गरेर पानीको प्रयोग गर्न आग्रह गरेका छन् ।
केउरेनी–धुसा टोलमा ७८ घरधुरीमा धारा जडान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा १ का सदस्यहरु हीराबहादुर घलान, मैयामाया थिङ, सानुमाया मुक्तान, चमेली विक, वडासचिव नितेशकुमार यादव, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । त्यस्तै, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीका बाहुनगाउँ हट्टेटोललाई घोषणा गरिएको थियो । घोषणासँगै मुहान, पाइप, धारा, ट्यांकी संरक्षण, सरसफाइका साथै ममर्त कार्यमा पनि समूदायले चासो राख्नुपर्ने बताए । ८७ घरधुरीमा धारा सहित फिल्टर प्राप्त गरेका छन् आगामी दिनमा अर्को टोललाई यसरी नै सुरक्षित खानेपानीको लागि काम गर्ने अध्यक्ष गोम्बाले बताए ।
कार्यक्रममा वडा १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ६ का सदस्यहरु शम्भु अर्याल, जीतबहादुर थिङ, पार्वती मुक्तान, क्यूकुमारी सुनार, आरआरएनका कार्यक्रम संयोजक कार्कीलगायतको आतिथ्यता रहेको थियो । नेपाल ग्रामीण पुर्ननिर्माण संस्था (आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा सञ्चालित वास परियोजना अन्तरगत सरसफाई सत्र तथा पूर्णसरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको आरआरएनका कार्यक्रम संयोजक कार्कीले बताए । यसअघि कैलाशका विभिन्न वडाका ७ वटा समूदाय घोषणा भइसकेका छन् ।







