मनहरीको देउकोटमा घरैपिच्छे खानेपानी धारा, दैनिकी सहज बन्दै
हेटौंडा-कवानपुरको मनहरी गाउँपालिका–८ देउकोटका वासिन्दाले भोग्दै आएको खानेपानी समस्या समाधान भएको छ । घरघरमा धारा जडान भएपछि देउकोटमा पानीको पुरानो समस्या हटेको हो । धारा जडानसँगै दैनिक जीवनमा सहजता आएको छ । बिहान पानी लिन जाँदाको हतार, लाइनको झमेला, समयको बर्बादी यी सबै कुरामा सुधार आएको छ । अब यहाँका नागरिक बिहान चिया पिउँदै, समाचार सुन्दै धाराबाट पानी उपभोग गर्न सक्छन् । यसले घरधन्दा, अध्ययन, कृषि, स्वास्थ्य र सरसफाइमा प्रत्यक्ष सकारात्मक असर पार्न थालेको छ । पानीको झमेलाले महिलाको दिनभरको समय प्रभावित हुन्थ्यो ।
बालबालिका विद्यालय जान ढिलो हुन्थ्यो । तर, घरमै धारा भएपछि महिलाहरु अन्य काममा लाग्न पाएका छन्, छोरा छोरी विद्यालय जान नियमित भएका छन् । यसले शिक्षा र महिला सशक्तीकरणमा पनि सहयोग पु¥याएको छ । अहिले स्थानीयमा हातधुने, भाँडा माझ्ने, नुहाउने आदि काम नियमित हुँदा व्यक्तिगत र सामुदायिक सरसफाइमा सुधार आएको छ । घरघरमा धारा हुनु सफा र सुरक्षित जीवनतर्फको पाइला हो । यद्यपि यसक्षेत्रका धेरै ठाउँमा पानीको समस्या हटेको छ ।
पानीको श्रोत ठुलो नहुँदा यहाँका धेरै परिवारले पानीका लागि वल्लो गाउँ र पल्लो गाउँमा धाउनुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दा बताउँछन् । यहाँका वासिन्दालाई खानेपानी सुविधा दिलाउनका लागि भनेर देउकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर २०७० सालदेखि निरन्तररुपमा काम गरिदै आएको थियो । चालु आर्थिक वर्षमा मात्र यस खानेपानी योजनाको काम सकेर यहाँका एक सय परिवारका घरघरमा दैनिक रुपमा निरन्तर पानी आएको हो ।
त्यतीबेला एक गाग्री पानीका लागि भोग्नुपरेको समस्या बताउँदै देउकोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामसिंह थिङ भन्छन्–‘पानीका लागि मुहानको समस्या थियो । एउटा गाउँभरमा थोरै धारा थिए । पानी लिनका लागि बिहान र बेलुकाघरका सबै काम मायामारेर धाउनुपर्ने बाध्यता थियो । तर, अहिले घरघरमा धारामा पानी आएको छ । निकै सहज भएको छ ।’
सबैभन्दा सुरुमा यहाँ पानी खुवाउनका लागि तत्कालीन हाँडीखोला गाविस कार्यालयबाट योजनाको सुरुवात गरिएको थियो । तर, हरेक वर्ष थोरै बजेट पर्ने भएका कारण योजना सम्पन्न गर्नका लागि निकै समस्या थियो । चालु आर्थिक वर्षमा भने खानेपानी डिभिजन कार्यालयले यस योजनाका लागि भनेर १० लाख रुपैयाँ लागतमा काम गरेको हो । यहाँ पानी खुवाउनका लागि देउकोटको खोल्सामा लिफ्टीङ गरेर पानी टंकीमा जम्मा गरेर वितरण गरिएको स्थानीय वासिन्दाले बताएका छन् ।
यसक्षेत्रमा लिफ्टीङ गरेको पानी वितरणका लागि अटोमेसन समेत जडान गरिएको छ । यसले घरमै मोवाइलबाट खानेपानीको मुहानको मोटर बन्द गर्ने र खोल्न मिल्ने सुविधा दिलाइएको खानेपानी डिभिजनका प्राबिधिकले बताए । यहाँ पानी संकलनका लागि भनेर ८० हजार लिटरको पानी टंकी निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष थिङले बताए । ठुलो पानीटंकी भएपछि एकसय घरलाई पानी खुवाउनका लागि कुनैपनि समस्या नभएको उनको भनाई छ ।







