पहिलो सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा
हेटौंडा- विद्युतीय उपकरण ट्रान्सर्फमर उत्पादन गर्दै आएको नेपाल एकारात ईन्जिनियरिङ कम्पनी ‘निक’ ले नेपालमै पहिलोपटक सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । हेटौडामा राखिएको चार्जिङ स्टेशनको मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका छन् । स्टेशनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले पहिलोपटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभर लैजान जरुरी रहेको बताएका छन् । उनले वातावरण संरक्षणको लागि इलेक्ट्रोनिक सवारी उपयुक्त रहेको धारण राख्दै चार्जिङ स्टेशन
बिस्तारमा लाग्न सुझाव दिए । स्टेशनका कारण नेपाली बजारमा रहेको आर्थिक श्रोत यहीँ रहन सहज हुने मुख्यमन्त्री लामाको भनाई छ ।
उनले नयाँ टेक्नोलोजी नेपालमा ल्याएको हुवावेलाई विदेशमा रहेको ज्ञानलाई नेपाली बजारमा ल्याउँदै सहकार्यको वातावरण बनाउन आग्रह समेत गरे । ‘यसले नेपाली बजारमा रोजगारीको अवसर प्रदान गर्न मद्दत पुग्नेछ’ उनले भने । कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानको रुपमा रहेको हरीत हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्दत पुग्ने बताइन् । धुवाँ र धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी सहरको वातावरणलाई सफा राख्न सकिने उनको भनाई थियो ।
सरकार र निजीक्षेत्रले नेपाली श्रोतलाई परिचालन गर्दै उत्पादन भएको विद्युतलाई यहीँ प्रयोग गर्दा वतावरणमैत्री हुने उनले बताइन् । उनले भनिन् ‘स्टेशनले सवारीबाट हुने प्रदुषण रोक्न र हेटौंडालाई सुन्दर बनाउन भूमिका खेल्ने छ ।’ चाइनाको प्रतिष्ठित कम्पनी हुवावेसँगको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेशन सञ्चालनमा ल्याएको हो । स्टेशनबाट १५ मिनेटभित्र सवारी फुल चार्ज हुने स्टेशन प्रमुख प्रेशा श्रेष्ठले बताइन् ।
प्रमुख श्रेष्ठका अनुसार करिव ११ महिनाको लामो प्रयासमा हरीत नगरी हेटौंडामा वातावरणमैत्री सेवा सञ्चालनमा ल्याउन सकेको हो । स्टेशनमा विद्युत आपुर्ति बन्द हुन नदिनका लागि २४०÷२२० केभीको सोलारको पनि व्यवस्थापन गरेको बताइएको छ । निकले हेटौंडा हरीतमैत्री उत्पादन प्रक्रियामा ध्यान दिँदै कामलाई अघि बढाएको जनाएको छ । गाडी चार्जसँगको समन्वयमा पहिलोपटक ल्याएको प्रबिधिलाई बिस्तार गरीने कम्पनीले जानकारी दिएको छ । स्टेशनको उद्घाटनसँग हरेक चार्जिङ प्वाइन्ट नजिकै हरियो सहरको रुपमा बिरुवा रोपिएको छ ।
निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हुवावे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेसीका प्रतिनिधि रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेललगायतको आतिथ्यता थियो ।







