पाथीभरा दुग्ध उत्पादक सहकारीको पहिलो साधारणसभा
हेटौंडा- बागमती गाउँपालिका वडा नं. ७ स्थित पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पहिलो साधारणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कुपनारायण फुँयालले सभाध्यक्षता एवम् गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा संस्थाले आइतबार पहिलो साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विवेक सिंतानले गरेका थिए । उनले साधारणसभाको औपचारिक सुरुवात गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सहकारीको स्थापना उद्देश्य, हालसम्मको गतिविधि, आर्थिक अवस्था, चुनौती तथा आगामी कार्ययोजना समेटिएको थियो ।
सभामा सहभागी सदस्य तथा अतिथिले सहकारीको हालसम्मको कार्यप्रगति सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित सेवाप्रवाहमा जोडदिन सुझाव दिएका थिए । साधारणसभामा आर्थिक विवरण पारित गर्नुका साथै विभिन्न नीतिगत र कार्यगत प्रस्तावमाथि छलफल तथा निर्णय लिइएको थियो ।कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत ओमबहादुर दर्जी, वडाअध्यक्ष उत्तरबहादुर भोलन, गाउँ कार्यपालिका सदस्य डम्बरबहादुर बिश्वकर्मा, भोर्लेनी दुग्ध सहकारीका अध्यक्ष ज्ञानसागर भोलनको उपस्थिति थियो ।







