मउवा संघमा एकदिवसीय ईपीएस तालिम
हेटौंडा- हेटौंडामा एक दिवसीय ईपीएस तालिम शनिबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यमी विकास समितिले तालिम आयोजना गरेको थियो । समितिका सभापति सीतादेवी भेटवालको अध्यक्षतामा संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष कृष्ण कटुवाल, संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता, संघका सल्लाहकार नरेन्द्र भण्डारी, उपाध्यक्ष काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, सहकोषाध्यक्ष निलम वैद्य, सचिव कुलप्रसाद चौलागाई, निवर्तमान सभापति अंकिता सुमार्गी, कासस विक्रम संजेल, आमन्त्रित राजाराम कार्की, पूर्वसभापतिहरु नीरा गोर्खाली, सुशिला पाण्डे, पूर्व कावासभापति देवकुमारी ढकाल, तालिम प्रशिक्षक विवेकआनन्द न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सभापति भेटवालले सहभागीलाई प्रोत्साहित गर्दै सपना पूरा गर्न आफैं क्रियाशील हुनुपर्ने र तालिम ग्रहण गर्न आउनु नै यस विषयमा दक्षता हासिल गर्ने पहिलो खुड्किलो भएको बताइन् । ढिलाइ गर्दा अवसरहरु गुम्दै जाने अवस्था आउने बताउँदै महिलाउद्यमीलाई आगामी दिनको सफलतामा सघाउने उनले बताइन् । नेउवा महासंघका सदस्य कटुवालले ईपीएस तालिम महिलाउद्यमीको लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे । संघका अध्यक्ष रानाभाटले महिला उद्यमीलाई सक्षम बनाउन संघले तालिम आयोजना गर्न अग्रसर रहने बताए ।
तालिम प्रशिक्षक न्यौपानेले ४३ जना सहभागीलाई भाषणकला अन्तर्गतको ईपीएस तालिम प्रदान गरेका थिए । माइक कन्ट्रोल, आई कन्ट्याक्ट, शब्दचयन, शारीरिक प्रस्तुति तथा व्यक्तित्व आदिमा ध्यान दिनुपर्ने विषय समेटी प्रशिक्षण प्रदान गरेका थिए । सहभागीले आत्मविश्वास बढेको अनुभूति गर्दै तालिमअवधि थपेर एडभान्स तालिम उपलब्ध गराइदिन संघसमक्ष अनुरोध गरेका थिए ।







