प्रधानमन्त्रीलाई राक्सिराङबाट पेरुङ्गोमा ‘चिउरी कोशेली’

साझाकुरा
२०८२ जेष्ठ २७, सोमबार १२:४७

हेटौंडा-चेपाङ समुदायको संस्कृति, जीविकोपार्जन र परम्परासँग गहिरो सम्बन्ध राख्ने ‘चिउरी’ र निगालोबाट बुनेको पेरुङ्गोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोशेलीस्वरुप प्रदान गरिएको छ । बहुउपयोगी चिउरीलाई भोर्लाको पातमा बेरेरपेरुङ्गोमाराखेर प्रधानमन्त्रीलाई पठाइएको मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन् । अध्यक्ष मल्लले पठाएकोे कोशेली बागमती प्रदेशसभा सदस्य भारती पाठकले प्रधानमन्त्रीलाई दिएकी हुन् । उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै चेपाङ समुदायले आफ्नो आशा र भरोसा पनि पठाएको उल्लेख गर्दै उपहारका लागि धन्यवाद दिए ।

‘चेपाङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र जीविकोपार्जनसँग गहिरो सम्बन्ध राख्ने वनउपज चिउरीबाट म चेपाङ समुदायमा समृद्धि ल्याउने परिकल्पना गरिरहेको छु,’ उनले भने, ‘परम्परागत सीप, जैविक विविधता, आदिवासी तथा सीमान्तकृत समुदायका जीवनशैलीप्रति म सम्मान व्यक्त गर्दै चिउरी प्रवद्र्धनका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले चिउरीको उत्पादन बढाउन र यसै वजेटमार्फत् समुदायमा आर्थिक गतिविधि बढाउनका लागि कार्यक्रम ल्याउने बताए । उनले वन स्रोतको प्रयोगलाई केवल सालका रुख कटानमा सीमित नगरी दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दिशामा लैजानुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले चेपाङ समुदायको परम्परागत ज्ञान, जीवनशैली र चिउरीसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस्तो बहुआयामिक वन उत्पादको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उनले प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण तथा आदिवासी जनजातिको भूमिकालाई राज्यले प्राथमिकतामा राखेको उल्लेख गरे । बागमती प्रदेशसभा सदस्य पाठकले प्रधानमन्त्रीसँग भेट गर्ने क्रममा आदिवासी जनजातिको परम्परागत सीप, ज्ञान र जैविक विविधतालाई कायम राख्दै वनमा आधारित उद्यम विकास गर्नुपर्नेमा जोड दिइन् । सामुदायिक वन उपभोक्ता महासंघकी अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेकी पाठकले मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङ समुदायलाई आर्थिक गतिविधिमा जोड्ने उपयुक्त स्रोत चिउरी हुनसक्ने बताइन् ।

राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले आफूहरुले जनप्रतिनिधि मार्फत् उपहार पठाएको बताए । उनले भने, ‘प्रधानमन्त्रीका लागि पठाइएको चिउरी चेपाङ समुदायको पहिचानसँग पनि जोडिएको छ, उहाँले खुशीकासाथ ग्रहण गरिदिनुभएकाले हामी हर्षित छौँ ।’ चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने चलन छ । वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पूजारी चेपाङ समुदायले चिउरीको रुखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*