द्रुतमार्गको सुरुविन्दु खोकना भन्दा ५ किमि पर सार्न माग
हेटौंडा- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको सुरुविन्दु विवाद र समाधनका उपायबारे ललितपुरको खोकना र बुङ्मतिका स्थानीयवासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर, वडा नम्बर २१ कमिटी अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका हुन् ।
सरोकार समितिले खोकनामा सुरुविन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले यो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीयलाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एकपटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार युवराज खतिवडा, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।कूल ७० दशमलव ९७ किलोमिटर दूरीको द्रुतमार्ग दुई खर्ब ११ अर्ब ९३ करोड लागतमा निर्माण सम्पन्न गर्ने तयारी गरेको भएपनि लागत बढ्ने बताइएको छ । यो सडक आयोजना २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।







