हेटौंडा बजारमा झोला तान्नेलाई तुरुन्त कारवाही गर्न निर्देशन
हेटौंडा- बागमती प्रदेश प्रहरीप्रमुख प्रहरी नायवमहानिरीक्षक अरुण पौडेलले अपराधको अनुसन्धान गर्नुभन्दा अपराध नै हुन नदिनु प्रहरीको प्रमुख कर्तव्य भएको बताएका छन् ।
सोमबार हेटौंडा–११ थानाभ¥याङस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित सञ्चारकर्मीसँंग परिचयात्मक कार्यक्रममा उनले समाजमा अपराध नै हुन नदिन प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई अगाडि बढाइरहेको बताए ।
प्रहरीप्रमुख पौडेलले प्रहरीले मात्रै अपराध नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथ सहयोग जरुरी रहेको बताए । जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा जिल्लाका विभिन्न ठाउँमा यस्ता कार्यक्रम भइरहेको उनको भनाई छ । अपराधको प्रकृति अनुसार अनुसन्धान गरी संलग्नलाई कानुनी दायरामा ल्याउने काम भएको उनले बताए । प्रदेश प्रहरीप्रमुख पौडेलले समाजमा विभिन्न बहानामा हुने गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरी निर्मम भएर लाग्ने बताए । अपराधको नियन्त्रण र न्युनीकरणको लागि प्रदेश प्रहरीले आफ्नै सक्रियतामा र मातहातका कार्यालयहरुको सहकार्यमा समाजमा जनचेतनामुलक कार्यक्रम गरिरहेको रहेको उनले जानकारी दिए । प्रदेश प्रहरी
प्रमुख पौडेलले ट्राफिक दुर्घटना न्युनीकरणलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा जोड दिए । दिनँहुजसो सडक दुर्घटनामा धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले ट्राफिक दुर्घटना न्युनीकरणमा विशेष ध्यानदिन जिल्ला ट्राफिक कार्यालयलाई निर्देशन दिइसकेको बताए ।प्रहरीप्रमुख पौडेलले हरेक जनताले गुनासोलाई सम्बोधन गर्ने गरी प्रहरीले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहरीक्षेत्रमा घटना घटेको १० मिनेटमित्र पुग्न उनले मातहातका निकायलाई निर्देशन दिए । सीमानाकामा हुने भन्सारछलीका घटनामा प्रहरीले कठोर कदम चाल्ने उनले बताए । प्रहरीप्रमुख पौडेलले हेटौंडाको मुख्यबजारमा झोला तान्ने, यात्रुलाई दुःख दिने व्यक्तिलाई तुरुन्त कारवाही गर्न प्रहरी कार्यालय र ट्राफिक कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा प्रहरीप्रमुख पौडेलले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश प्रहरी प्रतिबद्ध रहेको दाबी गरेका छन् । उनले अपराधको रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धान गरी जनताले सुरक्षाको अनुभुति गर्ने गरी प्रहरीले काम गरिरहेको बताए । समाजमा शान्तिसुव्यवस्था कायम गर्न प्रहरीले ट्राफिक व्यवस्थापन, भिडनियन्त्रण, भिआइपी, भिभिआइपीको सुरक्षाको प्रबन्ध, विपद् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई छ । प्रहरी प्रमुख पौडेलले अपराधको अनुसन्धान गर्नुभन्दा अपराध नै हुन नदिन प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालयका प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, संस्थापक अध्यक्ष प्रतात विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्वअध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो । बागमती प्रदेश प्रहरीकार्यालयअन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लाका तीन सय ५० प्रहरी इकाइ रहेका छन् । साथै १२ वटा लोकमार्ग प्रदेश प्रहरी कार्यालयको सुरक्षाजिम्ेवारीमा रहेका छन् ।







