स्थानीय पाठ्यपुस्तकको विषयमा छलफल र सुझाव संकलन
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवालापक्षसँग छलफल तथा सुझाव संकलन गर्नुका साथै गाउँशिक्षा योजना मस्यौदाको कार्यशाला गोष्ठी गरेको छ । सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वसहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्वसहसचिव घिमिरेले विद्यालयका प्रअहरु पनि एउटा पाठ्यक्रम हुन् ।
यहाँहरुले नेतृत्वदायी भूमिका शिक्षकले निभाउनुपर्ने बताए । आफ्नो गाउँपालिकाको विषयवस्तु र अवस्थाबारे थाहा पाउनको लागि पाठ्यपुस्तक बनाएर विद्यार्थीको ज्ञान, क्षमता अभिवृद्धितर्फ लाग्नुभएको प्रति गाउँपालिकालाई धन्यवाद दिँदै उनले बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्व लगायत धार्मिक तथा पर्यटनक्षेत्रको बारे ज्ञान लिनसक्ने बताए ।
कार्यक्रममा पाठ्यपुस्तकका लेखक एवम् पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गरेका थिए । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिका भित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु, जीव जनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली, अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादन मूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताए ।
त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रापालनको तरिका साथै कृषिक्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उनले बताए । गाउँशिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँशिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने बताए ।
कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखि विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने उनले बताए । कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उनले सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा गाउँशिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एवम् सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रअ बालचन्द्र मल्ललगायतले भनाई राखेका थिए ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवनसिं घलान, शिक्षा शाखाप्रमुख समीर जोशी, कैलाश गाउँपालिका सामूदायिक विद्यालयका प्रअहरु, बालक्लब सञ्जालका प्रतिनिधिको आतिथ्तयता रहेको थियो ।







