लागूऔषध ओसारपसारमा संलग्न ४ जना पक्राउ

साझाकुरा
२०८२ जेष्ठ २८, मंगलवार १२:०८

हेटौंडा- लागूऔषध ओसारपसारमा संलग्न ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जेठ २५ गते आइतबार राति ११ः२० बजेको समयमा हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नम्वरको बसमा सवार दुई महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका–२ बस्ने ४० वर्षीया फूलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तान रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चोकबाट पक्राउ गरेको हो ।

बस रोकी चेकजाँच गर्ने क्रममा शंका लागेर झोला खानतलासी गर्दा १० किलो ४०० ग्राम लागूऔषध गाँजा फेला परेपछि निजहरुलाई पक्राउ गरिएको हो । पत्राउ परेका उनीहरुलाई तत्काल नियन्त्रणमा लिई लागूऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायवउपरीक्षक अर्यालले बताए ।यस्तै, आइतबार दिउँसो करिब साढे १ बजेको समयमा अर्को टोलीले हेटौंडा उपमहानगरपालिका–५, सानोपोखराचोकमा गस्ती गर्दै जाँदा दुईजना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–१ निवासी २४ वर्षीय आशिष अधिकारी र वडा नं. २ निवासी २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन् । उनीहरुलाई शंकास्पदरुपमा बसिरहेको देखेर खानतलासी गर्दा १६० ट्याब्लेट लागूऔषध ट्रमाडोल बरामद भएपछि पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको प्रहरी नायवउपरीक्षक अर्यालले बताए । पछिल्लो समय मकवानपुरमा लागूऔषध कारोबारी र सेवनकर्ता बढ्दै गएको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*