भूमि आयोग मकवानपुरले समन्यव गर्न तोक्यो फोकल पर्सन
हेटौंडा-भूमि समस्या समाधान आयोग मकवानपुरले जिल्लामा रहेको भूमिसम्बन्धी समस्या समधानका लागि हरसम्भव प्रयास गरिरहेको बताइएको छ । आयोगको नयाँ नेतृत्व आएसँगै जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लामो समदेखिको समस्या समाधनकालागि छलफल, अन्तरक्रिया, समन्वय र सहकार्यलाई द्रुतगतिमा अगाडि बढाएको छ ।
आयोगका अध्यक्ष बलराम बलको अध्यक्षतामा बसेको बैठकले भूमि समस्या समाधानका लागि फोकल पर्सन तोकेर सदस्यहरुलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय पालिकासँग समन्वय र सहकार्य गर्ने र द्रुतगतिमा काम अगाडि बढाउने उद्देश्यकासाथ विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईलाई हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै सदस्यहरु दिलमाया घर्तीलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका तथा अर्का सदस्य कविन साङगामीलाई बकैया, मकवानपुरगढी र ईन्द्रसरोवर गाउँपालिकाको जिम्मेवारी दिएको छ ।
बैठकले बागमती गाउँपालिकाबाट प्राप्त ११४ वटा फाईलको स्वामित्व यकिन गर्न मालपोत कार्यालयमा लेखि पठाउने निर्णय गरेको छ । पालिकाबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी हुन् ? कि हाइनन् ? भनेर रुजु गर्न ती फाईल मालपोत कार्यालय पठाउने निर्णय गरेको आयोगकी सदस्य दिलमाया घर्तीले बताइन् ।
विगतको आयोगद्वारा नसमेटिएको÷गर्न बाँकी अधुरो काम तथा अहिलेको कार्यादेशले समेत नसमेटेका विषयहरु जस्तै फिल्डबुकमा नाम भएर पनि कैफियतमा वन, ऐलानी जनिएको, भोगलगत नभेटिएका, नापनक्सा भएर पनि पिल्डबुकमा नाम नभेटिएकाहरुको सहमस्या समाधानका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर केन्द्रीय आयोगमा पत्राचार गर्ने निर्णय गरेको उनले बताइन् ।







