ऋषेश्वर मन्दिरमा बौद्ध धर्मगुरु रिन्पोछेको मूर्ति अनावरण

साझाकुरा
२०८२ जेष्ठ २८, मंगलवार १२:१२

हेटौंडा- मकवानपुर जिल्लाको उत्तरीक्षेत्र दामनस्थित ऐतिहासिक तथा धार्मिकस्थल ऋषेश्वर मन्दिरमा बौद्ध धर्मगुरु रिन्पोछेको मूर्ति अनावरण गरिएको छ । पद्यमवर्ण महायान बिहार गुम्बा, ललितपुर, वडा नं. ६, ज्याठावहा, ओकुवहालबाट प्राप्त गुरु रिन्पोछेको मूर्ति बागमती प्रदेशसभा सदस्य कुमारी मुक्तानद्वारा अनावरण गरिएको हो । मुर्तीप्रतिष्ठा गर्दै प्रदेशसभा सदस्य मोक्तानले ऋषेश्वर मन्दिरक्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना अझ प्रगाढरहेको बताइन् । मूर्ति स्थापना कार्यक्रमले हिन्दु–बौद्ध सहिष्णुता र साझा आस्थाको सन्देश फैलाएको उनको विश्वास थियो । ऋषेश्वर क्षेत्रको विकासमा सहयोग गर्न आफूले प्रदेश सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता उनले गरिन् ।

पद्यमसम्भवको मूर्तिमा प्राणप्रतिष्ठा सहित वाङ आयुबाट अभिषेक पूजा कार्यक्रम भएको थियो । समुद्री सतहदेखि करिब २ हजार पाँच सय ८४ मिटर उचाइमा रहेको यो मन्दिर त्रिभुवन राजपथ हुँदै सहजै पुग्न सकिने स्थानमा पर्छ । सीमभन्ज्याङ र दामनको बीच भागमा पर्ने ऋषेश्वर मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको श्रद्धा केन्द्रकारुपमा रहेको छ । बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिन्पोछे) सँग गाँसिएको हुनाले यस स्थानको धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व रहेको छ ।

मुर्ति प्राणप्रतिष्ठा समारोहमा महायान बिहारका श्रद्धालुहरु, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोदकुमार लामा, वडा नं. ४ का अध्यक्ष नारायण लामा, तथा समिति सदस्यहरु निरोज प्रधान, शम्भुसिंह कार्कीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*