मनसुन फर्केपछि गर्मी बढ्यो, तराइका विद्यालय बन्द
हेटौंडा- अत्यधिक गर्मी बढ्दै गएपछि पठनपाठनमा समस्या आएको जनाउँदै तराईमा विभिन्न पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण विद्यार्थी बेहोस हुने, निदाउने, बिरामी हुने समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कपिलवस्तुका बाणगंगा र बुद्धभूमि नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
भरतपुर महानगरपालिका, बिराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका, कमलामाई नगरपालिकाले ३ दिन, बुद्धभूमि र बाणगंगा नगरपालिकाले चारदिन मंगलबारदेखि शुक्रबारसम्म र कपिलवस्तु नगरपालिकाले तीनदिन बुधबारदेखि शुक्रबारसम्म बिदा दिएका छन् । त्यसैगरी बेलौरी नगरपालिकाले दुईदिनका लागि वर्षे विदाबाट मिलान हुनेगरी विद्यालय विदा गरेको छ ।
नेपालमा सरदर मिति भन्दा १५ दिनअघि अर्थात जेठ १५ गते मनसुन कोशी प्रदेशबाट भित्रिएको थियो । तर, मनसुन कोशी प्रदेशबाटै पूर्वीएसिया फर्किएको मौसमबिद्हरुले बताएका छन् । पूर्वीएसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट बाहिरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केहीदिन नेपालमा मनसुन फैलिने सम्भावना देखिएको छैन ।
पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद्का अनुसार पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको हो । नेपालमा बंगालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर, त्यो कमजोर भएकोले हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो संकेत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । भारतको मध्यभूभागमा पनि न्यूनचापीय क्षेत्र बन्दै गएको छ जसको असर नेपालमा आइपुग्ने सम्भावना पनि रहेको बताइएको छ ।
यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ । प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्दार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमानसहित तयारी गरिरहेको बताएका छन् ।







