ईन्द्रसरोवरमा पानीको सतह ४ मिटर मात्र बाँकी
हेटौंडा-देशको एकमात्र जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीको ईन्द्रसरोवरमा पानीको सतह घट्दै गएको छ । सोमबार साँझसम्म ईन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट १४ सय ८६.३९ मिटरमा झरेको जानकारी कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले दिएका छन् । उनका अनुसार पछिल्लो समय पानी नपरेको र गर्मीको कारण विद्युत् माग बढ्दा ईन्द्रसरोवरको पानीको सतह निरन्तर घटिरहेको हो । ‘अहिले हामी १४८३ मिटर भन्दा माथि छौं, त्यसैले अझै केहीदिन नियमित उत्पादन गर्न सक्छौं,’ प्रमुख भट्टले भने–‘तर, पानीको सतह १४ सय ८३ मिटरभन्दा तल झरेमा अत्यावश्यक बाहेकको बिजुली उत्पादन सम्भव हुँदैन ।’
ईन्द्रसरोवर तालमा समुद्री सतहबाट १५ सय ३० मिटर उचाइसम्म पानी जम्मा गर्न सकिन्छ । सामान्य अवस्थामा तालको न्यूनतम सतह १४ सय ८४ मिटर कायम गरिन्छ तर, विद्युत् माग अत्यधिक भएमा एकमिटर तलसम्म घटाउन सकिने व्यवस्था गरिएको छ । हाल कुलेखानी प्रथम (६० मेगावाट), दोस्रो (३२ मेगावाट) र तेस्रो (१४ मेगावाट) जलविद्युत् केन्द्र पूर्णक्षमतामा सञ्चालनमा छन् । यदि पानीको सतह न्यूनतम बिन्दुभन्दा तल पुग्यो भने यी आयोजना बन्द गर्नुपर्ने अवस्था आउनसक्ने प्रमुख भट्टले चेतावनी दिएका छन् ।
भट्टका अनुसार गर्मी बढेसँगै विद्युत् माग उच्च रहेको छ, जसका कारण जलाशयको पानी चाँडै खपत भइरहेको छ । अझै केही समय वर्षा नहुँदा सरोवरको पानीको मात्रा झनै घट्ने अनुमान गरिएको छ । गतवर्षको अनुभव उल्लेख गर्दै प्रमुख भट्टले भने, ‘असोज १० र ११ गतेको अविरल वर्षाले इन्द्रसरोवर ताल भरिएर ओभरफ्लो हुन पुगेको थियो, जसका कारण बाँधको सुरक्षाको लागि दुई ढोका खोली पानी बाहिर निकाल्नुपरेको थियो ।’
उनी भन्छन्, ‘पानी परेपछि मुलुकका रन अफ रिभरमा आधारित आयोजना पूर्णक्षमतामा चल्न थाल्छन्, र कुलेखानीलाई ब्याकअपको रुपमा मात्र प्रयोग गरिन्छ ।’ कुलेखानी जलविद्युत् आयोजना सुक्खा तथा गर्मीयाममा नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । नदी तथा खोलानालामा पानीको बहाव घट्दा विद्युत् आपूर्ति सुनिश्चित गर्न र भोल्टेज सन्तुलन कायम राख्न कुलेखानी प्रमुख आधार बन्छ ।
प्रमुख भट्टले समयमै वर्षा सुरु भएमा इन्द्रसरोवरमा पानीको सतह पुनः बढ्ने आशा व्यक्त गरेका छन् । यद्यपि तत्कालको अवस्थामा भने जलाशयको पानीको उच्च उपयोग गर्दै उत्पादनमा सन्तुलन कायम राख्नु प्रमुख चुनौती बनेको छ । कुलेखानी जलाधार क्षेत्रमा रहेका खोलानाला पनि सुकेर पानीको बहाव ज्यादै न्यून बनेका कारण जलासयमा पाथी थपिन सकेको छैन ।







