दुर्घटना न्युनीकरण प्रतिबद्धतापत्रमा हस्ताक्षर
हेटौंडा- यातायात व्यवसायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिले दूर्घटना न्युनीकरणमा सहयोग गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको समन्वयमा भएको सडक दुर्घटना न्युनीकरण सम्बन्धी सचेतना अभिवृद्धि तथा छलफल कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट हटाउने निर्णय गरी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयको सहकार्यमा भएको कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारी, अटो तथा ईरिक्सा व्यवसायी संघका नवराज घिमिरे, सार्वजनिक यातायात प्रालिका उपाध्यक्ष रञ्जना बर्तौला, बुद्धिजीवि एवम् समाजसेवी सिद्धिलाल श्रेष्ठ, स्वरोजगार यातायात मजदुर संघका टेकप्रसाद न्यौपानेलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण पौडेलले उपत्यकाको तीन जिल्ला बाहेक १० वटै जिल्लालाई लक्षित गरी कार्यक्रम गरिएको बताएका छन् । सवारी साधनमा अनावश्यक रुपमा सजावट गर्ने गतिविधिलाई निरुसाहित गर्न प्रहरी निर्मम ढंगले अगाडि बढ्ने उनले बताए । कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ ।
कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रहरी बरिष्ठउपरीक्षक प्रभुप्रसाद ढकाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरकाप्रहरीउपरीक्षक नरेशराज सुवेदी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो । चालु आर्थिक वर्षको हालसम्म मकवानपुरमा ३ सय ६२ सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको छ ।







