हेटौंडा सिमेन्ट उद्योगमा चरम बेथिति, छानबीनको माग
हेटौंडा-नेपाल सरकारको पूर्णस्वामित्वमा सञ्चालित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चरम बेथिति भएको भन्दै कर्मचारी संगठनले उद्योग व्यवस्थापन र केही कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । तीनवटा मजदूर युनियनले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै व्यवस्थापकीय लापरवाही र अनियमितताको छानबीनको माग गरेका हुन् । युनियनले उद्योगका नवौं तहका एक कर्मचारीले उद्योग प्रमुखको कार्यक्षेत्र मिचेर आधिकारिक आदेशबिना मौखिक निर्देशनका भरमा सिमेन्ट बिक्री प्रक्रिया अवरुद्ध गराएको आरोप लगाएका छन् । सिमेन्ट बिक्री उद्योगको प्रमुख आम्दानीको स्रोत भएकोले यसमा अवरोध हुँदा कर्मचारीको भविष्य जोखिममा परेको उनीहरुको भनाइ छ ।
विज्ञप्ीतमा उद्योगको बिक्री निर्देशिका विपरीत सिमेन्ट उधारोमा बिक्री गरिएको र करोडौं रुपैयाँ असुल हुन बाँकी रहेको उल्लेख छ । छानबीन समितिको प्रतिवेदन अनुसार ३ करोड ८८ लाख ८९ हजार असुल गर्न बाँकी रहेकोमा उद्योगले नियतवश १ करोड ४२ लाख ४६ हजार मात्र असुल प्रक्रिया अघि बढाएको युनियनको आरोप छ । उनीहरुले उद्योगमा प्रयोग हुने कोइला तथा अन्य कच्चापदार्थ बजार दरभन्दा अत्यधिक मूल्यमा खरिद गरिएकोले सिमेन्टको उत्पादन लागत बढेको दाबी गरेका छन् ।
त्यस्तै, उद्योगको भैंसे खानीसम्मको रोपवे कवाडीको मूल्यमा बेचेको, बिक्री प्रक्रिया बाहिर रहेका सामग्री र हराएका ट्रान्सफर्मरमा पनि ठेकेदार र व्यवस्थापनको मिलेमतो रहेको आशंका युनियनहरुको छ । युनियन अध्यक्षहरु र सल्लाहकारलाई उद्योग प्रवेशमारोक लगाइएको घटनालाई गम्भीर अपमानजनकरुपमा लिइएको उनीहरुले बताएका छन् । गैरकानुनी गतिविधिमा संलग्न कर्मचारीमाथि तुरुन्त कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग समेत गरेका छन् ।
समग्र उद्योग ट्रेड युनियन नेपालका अध्यक्ष कुमार खतिवडा, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष विशाल नेपाल र अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष नेमा डिमडुङद्वारा जारी विज्ञप्तीमा उद्योगलाई नाफामूलक, पारदर्शी र कर्मचारीमैत्री बनाउने माग राखिएको छ ।







