बागमती प्रदेश गौरवको योजना मुख्यमन्त्रीलाई बुझाइयो
हेटौंडा-प्रदेश राजधानी हेटौंडा तथा मकवानपुर जिल्लाको दीर्घकालीन विकासलाई लक्षित गर्दै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश गौरवको योजना समेटिएको विस्तृत पत्र प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामालाई बुझाएका छन् । योजना २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेका छन् । सांसद श्रेष्ठले प्रस्तावित गौरवका योजना बुझाउँदै परियोजनाहरु हेटौंडा राजधानीको रूपमा सुशोभन गर्न, भौतिक पूर्वाधार विकास, सामाजिक सेवा प्रवद्र्धन तथा दिगो सहरी विकासका लागि अपरिहार्य रहेको स्पष्ट पारे ।
प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेशको प्रशासनिक भवन निर्माण, हेटौंडा–काठमाडौं सुरक्षित मार्ग (भीमफेदी–कुलेखानी), हेटौंडा बाइपास सडक (चुरियामाई–चोकिटोल), कर्रा नदी कोरिडोर, एकीकृत सहरी विकास योजना (टाउन प्लानिङ), प्रदेशसभा गृह निर्माण, हेटौंडा चक्रपथ निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश विश्वविद्यालय लगायत योजनालाई आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा आवश्यक रकम सहितको व्यवस्था गर्न आग्रह गरे ।
श्रेष्ठले योजनापत्र पेश गर्दै प्रदेश राजधानी हेटौंडाको भौतिक संरचना अत्यन्तै कमजोर रहेको, प्रशासनिक सेवा सुविधाको अभाव रहेको, सहरीकरण अव्यवस्थित भएको, तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गम्भीर लगानीको खाँचो रहेको उल्लेख गरेका छन् । सांसद श्रेष्ठको प्रस्तुति र योजनाको औचित्यप्रति मुख्यमन्त्री लामाले गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकार विकासका आधारमा स्पष्ट र कार्यान्वयनमुखी ढंगले अघि बढ्ने बताए । उनले भने, ‘हामी जनअपेक्षाअनुकूल बजेट ल्याउने तयारीमा छौं ।
यस्ता गम्भीर, यथार्थपरक र भविष्य दृष्टिकोणयुक्त योजनालाई प्राथमिकतामा राखिनेछ । केही योजना तुरुन्त कार्यान्वयनमा लैजान सकिन्छ भने केहीलाई चरणबद्धरुपमा अघि बढाइनेछ’ मुख्यमन्त्रीले योजना कार्यान्वयनका लागि प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालय र प्राविधिक निकायसँग समन्वय गरेर ती योजना थप परिमार्जन, विस्तृत परियोजना प्रतिवेदन (एमओयू) तयारी र बजेट व्यवस्थापन गर्न निर्देशन दिने बताएका छन् । प्रदेश गौरव योजना सार्वजनिक भएसँगै स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजले सांसद श्रेष्ठको पहलको स्वागत गरेका छन् । उनीहरुले यस्ता योजनाले हेटौंडालाई साँच्चिकै राजधानी बनाउने दिशामा सरकार गम्भीर रहेको सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।







