बागमती प्रदेशको औषधि तथा उपकरण प्रक्षेपण

साझाकुरा
२०८२ जेष्ठ ३०, बिहीबार ११:०७

हेटौंडा- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरेको छ । पहिलोपटक आयोजित यसकार्यक्रममा स्वास्थ्यक्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवाविस्तार तथा रोग लाग्न नदिने उपायका विषयमा छलफल भएको थियो । कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आवश्यकता भन्दा बढी औषधि माग गर्ने प्रचलन रहेको बताउँदै रोग लाग्न नदिने जीवनशैली अपनाउनु नै दीर्घकालीन समाधान भएको बताएका छन् । ‘नियमित व्यायाम गरेमा धेरै रोग लाग्दैनन् । औषधि वितरणमा भन्दा रोग लाग्न नदिने कुरामा ध्यान दिनुपर्ने बेला आएको छ,’ मुख्यमन्त्री लामाले भने ।

मुख्यमन्त्री लामाले औषधि र उपकरणको खरिद प्रक्रिया पारदर्शी बनाइनुपर्ने आवश्यकता औँल्याउँदै कम मूल्यमा बोलपत्र पर्नुका कारण गुणस्तर कम हुने गरेको बताए । स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य संस्थाहरुको आवश्यकता अनुसारको बजेट विनियोजन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । ‘स्वास्थ्यमा अहिलेको परिपाटीमा कम प्रतिशत मात्र बजेट छुट्टिने गरेको छ ।

बिश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० प्रतिशत बजेट छुट्टाउनु पर्छ, अहिलेको अवस्थामा सबै अस्पताल र स्वास्थ्य संस्थाका आवश्यकता पूरा गर्न पर्याप्त छैन,’ मन्त्री थापाले भने । उनले स्वास्थ्य सेवालाई बिस्तार गर्न सरकार प्रतिवद्ध रहेको भए पनि बजेटका कारण सेवा दिन कठिन भइरहेको उल्लेख गरेका छन् । स्वास्थ्य मन्त्रालयले रोग लाग्न नदिन ‘मेरो लागि एक घण्टा समय’ भन्ने नारा सहित मन्त्रालयले काम गर्ने उनले बताए । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले स्वास्थ्यक्षेत्रका चुनौती समाधान गर्न कुल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्नेमा जोड दिइन् ।

अस्पतालमा बिरामीको चाप बढिरहेको छ । यो चाप व्यवस्थापन गर्न सेवा र पूर्वाधारमा लगानी आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले आगामी वर्षमा आवश्यक पर्ने औषधि र उपकरणको विस्तृत प्रक्षेपण प्रस्तुत गरेका थिए । उनले यो प्रक्षेपण कार्यक्रम पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै कम वा अत्यधिक आपूर्ति हुन नदिन योजना बनाइएको बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, नेकपा एमाले बागमती प्रदेशका प्रमुखसचेतक मधुसूदन पौडेल, प्रदेशसभा सदस्य भरत केसी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, सदस्य डा. दिपेन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, साथै मन्त्रालयका महाशाखा प्रमुखहरु सागर घिमिरे, डा. खगेश्वर गेलाल लगायत जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*