हेटौंडामा ६५ लाख लगानीमा ‘चियालय’ सञ्चालन

साझाकुरा
२०८२ जेष्ठ ३१, शुक्रबार ११:२२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४, बासुदेव मार्गमा नयाँ व्यावसायिक ‘चियालय’ संचालनमा आएको छ । स्थानीय फिरोज खान र जेके श्रेष्ठको संयुक्त लगानीमा चियालय सुरु गरिएको हो ।११ वर्षसम्म दक्षिणकोरियामा रोजगारी गरेर फर्किएका श्रेष्ठ र हेटौंडामै सुनचाँदी व्यवसायमा सक्रिय खानबीचको साझेदारीमा झन्डै ६५ लाख रुपैयाँ लगानीमा चियालय स्थापना गरिएको हो । सञ्चालकद्वय श्रेष्ठ र खानले हेटौंडामै केही फरक र स्तरीय काम गर्नुपर्ने सोचका साथ चियालय सुरु गरेको बताएका छन् । ग्राहकका लागि यहाँ सामान्यदेखि उच्चस्तरसम्मका चियाको फराकिलो विकल्प उपलब्ध हुनेछ । हेटौंडाका लागि नौलो मानिएको ‘अरेबिक फालाफेल डिश’, ‘सुईरो टी’सँगको सहकार्यमा विभिन्न फ्लेवर बेस चिया पाइने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

‘हामीले बजारमै पाइने मूल्यमा फरक स्वाद र गुणस्तर दिन खोजेका छौं,’ श्रेष्ठले भने, ‘यहाँ आउने सबैलाई नयाँ अनुभव दिनेछौं । चिया मात्र होइन, यस क्षेत्रप्रति रुचि राख्नेहरुलाई हाम्रै एकेडेमीमार्फत् तालिम दिने योजना पनि बनाएका छौं । अहिले पनि केहीले तालिम लिइरहनुभएको छ ।’ उनका अनुसार चियालयमा स्थानीय उत्पादन, अर्गानिक सामग्री र वातावरणमैत्री सेवामा विशेष जोड दिइएको छ ।

बिहीबार चियालयको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले गरिन् । उनले यस्ता नवप्रवर्तनमूलक व्यवसायलाई प्रेरणादायी भन्दै प्रशंसा गरिन् । ‘स्वदेशमै व्यवसाय गर्न चाहनेलाई कसैले रोकेर रोकिन्न । जोश, सोच र योजना भए विदेशजस्तै मेहनत नेपालमै गरेर सफलता मिल्छ,’ नगरप्रमुख लामाले भनिन्, ‘देशमै केही गर्न चाहने युवाका लागि यो उदाहरण बन्नेछ ।’ उनले स्थानीय तह युवामैत्री सोच र उद्यमशीलता प्रवद्र्धन गर्ने योजनामा प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

कार्यक्रममा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन साक्यले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गर्नु दूरदृष्टिपूर्ण निर्णय भएको उल्लेख गरे । ‘नेपालमै प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘त्यो सम्भावनालाई उपयोग गर्न सोच र साहस आवश्यक पर्छ । जेके र फिरोजले उदाहरणीय काम गर्नुभएको छ ।’ बिहीबार औपचारिक उद्घाटन सम्पन्न भए पनि चियालयको ‘ग्रान्ड ओपनिङ’ कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ । सेवा शुक्रबारदेखि नियमितरुपमा सुरु हुने सञ्चालक खानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*