हेटौंडा उपमहानगरमा तामाङ र नेवारी भाषा अनिवार्य

साझाकुरा
२०८२ जेष्ठ ३२, शनिबार १३:०८

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले आगामी २०८२ साल श्रावण १ गतेदेखि नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा तामाङ र नेपाल (नेवारी) भाषा अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको ६७ औं कार्यपालिका बैठकले वडा कार्यालय, स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरुको साइनबोर्ड, लेटरप्याड र अन्य आधिकारिक कागजातहरुमा यो नियम लागू गरिएको उपमहानगरका प्रवक्ता सविन न्यौपाने जानकारी दिएका छन् । यस कदमले स्थानीय मातृभाषा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य राखेको नगरप्रवक्ता न्यौपानेले बताएका छन् । मातृभाषामार्फत सेवाप्रवाह गर्दा स्थानीयले सहजरुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

त्यसैगरी, हेटौंडा उपमहानगरले सार्वजनिक जग्गाको संरक्षणमा पनि कठोर नीति लिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ अन्तर्गतको दफा ९७ बमोजिम उपमहानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको एकीकृत लगत संकलन गरी प्राविधिक माध्यमबाट विवरण तयार पार्ने भएको छ । सार्वजनिक जमिनमा अनधिकृतरुपमा बनाइएका निजी भौतिक संरचना(घरटहरा) १५ दिनभित्र हटाउन सूचित गरिएको छ । तोकिएको समयावधिमा अतिक्रमण हटाइएन भने प्रचलित कानुनअनुसार सम्बन्धित संरचना हटाउने प्रक्रिया अगाडि बढाइने उपमहानगरले स्पष्टपारेको छ ।

उपमहानगरले सबै नागरिकलाई यस्ता सार्वजनिक जग्गाको संरक्षणमा सहकार्य गर्न र ऐनविपरीत कुनै गतिविधि नगर्न आग्रह गरेको छ । हेटौंडा उपमहानगरले एमबिबिएस अध्ययनरत ४ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्धगराउने भएको छ । उपमहानगरपालिकाबाट सिफारिस भई एमबिबिएस अध्ययन गरिरहेका ४ जना विद्यार्थीलाई जनही ५ लाखको दरले आर्थिक वर्ष २०८२÷८३ मा छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीमा हेटौंडा–१५ की कृष्टिना तितुङ, हेटौंडा–५ की शाम्भवी ठकुरी, हेटौंडा–४ का सफल आचार्य र हेटौंडा–१९ का पबिन बर्तौलारहेका छन् । खोला तथा नदीबाट अवैधरुपमा ढुंगा, गिट्टी, बालुवाचोरी निकासी हुने गतिविधिलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कडा निगरानी गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*