बागमती प्रदेश सरकारको बजेट आज प्रदेशसभामा प्रस्तुत हुँदै

हेटौंडा- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट आज आइतबार प्रदेशसभामा प्रस्तुत हुँदैछ ।दिउँसो ३ बजे बस्ने प्रदेशसभामा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नेछन् । निर्धारित समयभन्दा ३० मिनेट अगावै औपचारिक पोशाकमा प्रदेशसभा भवनमा प्रवेश गर्न सभामुख भुवनकुमार पाठकले सांसद्हरुलाई आग्रह गरेका छन् । चालु आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ ।
यसवर्ष केही आयोजना योजना बैंकमार्फत समावेश गरिएको छ । योजना बैंकमा सबै योजना समेट्न नसकिए पनि केही योजना योजना बैंकमार्फत् आएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले बताएका छन् । संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कटौती, खर्च क्षमतामा सुधार ल्याउन नसक्दा र आन्तरिक राजस्व
वृद्धिमा देखिएका चुनौतीकाबीच पनि यसवर्ष बजेटको आकार केही बढ्ने देखिएको छ । हालै सार्वजनिक बागमती प्रदेशको राजस्व सुधार अध्ययन प्रतिवेदनमा पनि प्रदेशको आन्तरिक आम्दानी बढाउन तत्काल संरचनागत र नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।
यथार्थपरक र खर्च गर्न सकिनेबजेट आउछः मन्त्री काफ्ले
आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले नीति तथा कार्यक्रमलाई आधार बनाएर यथार्थपरक र खर्च गर्न सकिने बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । बागमती प्रदेशलाई आइटी हबको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकार अगाडि बढेको उनको भनाइ छ । बागमती प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडेलमा योजना कार्यान्वयन गर्ने गृहकार्य गरेको छ ।
मन्त्री काफ्लेले चालु आवको तुलनामा आगामी बजेट ठूलो आकारको हुने स्पष्ट पारेका छन् । ‘महत्वपूर्ण योजना कार्यान्वयन र प्रभावकारी बजेट व्यवस्थापन हाम्रो प्राथमिकता हो । त्यसकारण आगामी आर्थिक वर्षको बाजेटको आकार केही बढ्छ,’ उनले भने, ‘निजीक्षेत्रलाई आकर्षण गर्ने, उत्पादनवृद्धिमा टेवा पु¥याउने, नागरिकका मौलिकहक र सेवामा जोड दिने गरी बजेट तयार गरिएको छ ।’
मन्त्री काफ्लेले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षालगायत क्षेत्रमा विशेष संवेदनशीलता देखाउने जानकारीदिए । बजेटले नागरिकमैत्री करनीति ल्याउने, करको क्षेत्र विस्तार गर्ने र कर संकलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उनको दावी छ । प्रदेश सरकारले विपद् व्यवस्थापनमा पनि संवेदनशीलता अपनाउँदै कानुनी ढाँचाभित्र रहेर तत्काल निर्णय गर्न सकिने कार्यक्रम समावेश गर्ने भएको छ ।
बागमती प्रदेशको आर्थिक बृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान
चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको आर्थिक बृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६ दशमलब ५२ प्रतिशत रहने अनुमान गरिएको बताइएको छ । आर्थिक सर्वेक्षणअनुसार बागमती प्रदेशमा सामाजिक र भौतिक सूचकमा पनि उल्लेखनीय प्रगति भएकोे पाइएको छ । बागमती प्रदेशमा हाल ९९ दशमलब ९७ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको तथा ९२ दशमलब ३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सेवा पुगेको उनले बताए । साक्षरताको दर ८२ दशमलब १ प्रतिशत रहेको र युवामा उद्यमशील सोचको विकास हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले सर्वेक्षणले औंल्याएका विषयलाई आगामी बजेट तथा कार्यक्रम र क्षेत्रगत नीतिमार्फत सम्बोधन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले बताए । गत फागुनसम्म बागमती प्रदेश सरकारले कुल १४७ वटा सडक पुल र २८ वटा झोलु·ेपुल÷ट्रस पुल निर्माण सम्पन्न गरेको उल्लेख छ । यस अवधिमा बागमती प्रदेशभित्रका ११९ वटै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोडिएको र ९१ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडकको पहुँच पुगेको बताइएको छ । २८ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडकको पहुँच पुग्न बाँकी रहेको उल्लेख छ ।
चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २५ दशमलब २ प्रतिशत र गैरकृषिक्षेत्रको योगदान ७४.८ प्रतिशत रहने अनुमान गरिएको मन्त्री काफ्लले बताए । उनका अनुसार गत आर्थिक वर्ष यस्तो योगदान क्रमशः २४.७ प्रतिशत र ७५.३ प्रतिशत रहेको थियो । १ दशमलब ६ चालु आर्थिक वर्ष २०८१÷८२ मा कृषिक्षेत्रको उत्पादन ३ दशमलब २८ प्रतिशत र गैरकृषिक्षेत्रको उत्पादन ४ दशमलब २८ प्रतिशतले बढ्ने अनुमान छ ।
गत आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ३ दशमलब ३५ प्रतिशत र गैरकृषिक्षेत्रको उत्पादन ३ दशमलब ३६ प्रतिशतले बढेको थियो । प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा बागमतीमा निरपेक्ष गरिवी दर राष्ट्रिय औसतभन्दा कम रहेको उल्लेख छ । नेपाल जीवनस्तर सर्वेक्षण चौथो अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २० दशमलब २७ प्रतिशत र बहुआयामिक गरिबीको जनसंख्या १७ दशमलब ४ प्रतिशत रहेकोमा बागमती प्रदेशको निरपेक्ष गरिवी १२ दशमलब ५९ प्रतिशत र बहुआयामिक गरिबी ७ प्रतिशत रहेको छ ।