रातोमाटे दुर्घटनामा १० जना घाइते
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित डाइभरडाँडामा शनिबार दिउँस यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।बीरगंजबाट हेटौंडातर्फ आइरहेको ना ५ ख २९७० नम्बरको बसको ब्रेकफेल भई पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आइरहेको अन टेस्ट कारलाई ठक्कर दिएको थियो । त्यसपछि सोही बसले अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्यांकरलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ४ र कारमा सवार ६ जना गरी कुल १० जना घाइते भएका हुन् । घाइतेहरुलाई तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको छ । तीमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । बस ब्रेकफेल भई नियन्त्रण गुमाउँदा दुर्घटनास्थल भन्दा करिब १०० मिटरअघि मात्रै एउटा रुखमा ठोक्किएर रोकिन सफल भएको प्रहरीले जनाएको छ । ट्यांकरको पछाडिको भागमा सामान्य क्षति पुगेको बताइएको छ ।







