ठाडेखोला र हाँडीखोलामा निर्मित पुल बानियाँद्वारा उद्घाटन

साझाकुरा
२०८२ असार १, आईतवार १२:१३

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाको ४ वटा वडालाई जोड्नको लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्नगरेको पक्की पुलको शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गतवर्ष नै सम्पन्न गरी उद्घाटन गरिएको थियो । बाँकी २ वटा पुलको शनिबार उद्घाटन गरिएको हो । मनहरी–३ स्थित ठाडेखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन् ।

८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाईको ३ स्पानको ठाडेखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो । त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरवनारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी–१ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वांग्राखोला पुल र ३ र ४ नम्बर वडालाईनै जोड्ने अर्को मसिने खोलापुल गतवर्ष जेठमै उद्घाटनगरिएको थियो ।

३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वांग्राखोला पुल ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीनवटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीलेगरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो ।

हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो । यो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषिउपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ ।

पुल उद्घाटन गर्दै प्रदेशसभा सदस्य बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहजरुपमा बजारमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लामिटार–चकरी–मकरी–पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने बानियाँले विश्वास व्यक्त गरे । ‘हाँडीखोलालाई राजमार्गसँग जोड्न राप्तीखोलामा प्रदेश सरकारमार्फत पुल बनायौँ, यता वडा जोड्न गाउँपालिकाले पुल बनायो, अब यो लामिटार–मकरी सडक पिच गर्न प्रदेश सरकारमार्फत बजेट हाल्छु, चौरासीसम्म यो बाटो जसरी पनि पिच गर्ने हो’ बानियाँले भने ।

चकरीबाट हेटौंडा–१३ पदमपोखरी जोड्ने पुल निर्माण गर्नको लागि पनि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने बानियाँले प्रतिवद्धता जनाए । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरु भएको भन्दै उनले वर्तमान व्यवस्था जनताको हितमा रहेको दावी गरे । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । अब सडक स्तरीकरणमा आफूहरुले ध्यान दिने उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्वसांसद ओम ग्लान, मनहरी गाउँपालिका पूर्वअध्यक्ष एकराज उप्रेती, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, वडा नम्बर ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*