गोर्खा लाहारीमा समग्र उद्योग ट्रेड युनियनको प्यानल विजयी
हेटौंडा- हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल र माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघबीच प्रतिस्पर्धा भएको थियो ।कुल १ सय ७ जना मतदातामध्ये समग्रले ६४ मत प्राप्त गर्दै विजयी हुँदा अखिलले ४३ मत प्राप्त गरेको थियो । २१ मतको स्पष्टअन्तरले समग्र प्यानलले विजय हासिल गरेको हो ।
विजयसँगै केशवप्रसाद अधिकारी समग्र उद्योग ट्रेड युनियन नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनपश्चात अध्यक्ष अधिकारीले नेकपा एमाले पार्टी, जिफन्ट प्रदेश, जिल्ला तथा पालिका कमिटी, उद्योग व्यवस्थापन परिवार, मतदानमा सहभागी सम्पूर्ण श्रमिक, श्रम कार्यालय मकवानपुर, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
उनले भविष्यमा पनि सबैको साथ र सहकार्यबाट संगठनलाई अझ सुदृढ बनाउँदै श्रमिकको हक र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिफन्ट बागमती प्रदेश सचिवालय सदस्य लालकृष्ण प्याकुरेल, जिफन्ट जिल्ला अध्यक्ष सम्भु लामा, जिल्ला उपाध्यक्ष प्रमिला बिडारी, एमाले वडा नं. ८ का अध्यक्ष गोतामे मोक्तान लगायत श्रमिक नेताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले विभिन्न संगठनमा आस्था राख्ने श्रमिक साथीहरुलाई समेटेर उत्पादन वृद्धि गर्ने, व्यवस्थापनसँग संवाद र सहकार्यको माध्यमबाट श्रमिकको हकहितको संरक्षण गर्ने संगठनको प्रतिबद्धता दोहो¥याएका थिए । शुभकामना कार्यक्रममा सहभागीले विजयको खुशीमा औद्योगिक क्षेत्रको परिक्रमा गर्दै उत्सवसमेत मनाएका थिए ।







