हेटौंडा–सिन्धुली खण्डको डेढ किमि सडक अझै निर्माण हुन सकेन
हेटौंडा-मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा–सिन्धुली खण्डको करिब डेढ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन । झण्डै १२० किलोमिटर लामो यो खण्ड दुई वर्षदेखि सञ्चालनमा आएपनि केही स्थानमा स्थानीयको अवरोध र पछिल्लो समय बजेट अभावका कारण सडक निर्माण अधुरो रहेको हो । सिन्धुलीतर्फको ८५ र हेटौंडातर्फको ३५ किलोमिटर सडकमध्ये अधिकांश कालोपत्रे भएपनि कमलामाई नगरपालिका–६ र ४ नम्बर वडाका चार स्थानमा अझै सडक बनेको छैन । सुरुमा मुआब्जा र सडक मापदण्डका विषयमा स्थानीयको असहमति थियो । अहिले सहमति बनेपनि काम अघि बढ्न सकेको छैन ।
कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार नालाबाहेक ११ मिटर सडक बनाउने सहमति पछि अधिकांश स्थानमा निर्माण सम्पन्न भएपनि विवादितक्षेत्र छाडेर निर्माण कम्पनीले काम सम्पन्न गरिसकेको छ । ती खण्ड सडक विभागलाई हस्तान्तरण भइसकेपछि छुटेका भागका लागि पुनः बजेट माग गर्नुपरेको उनले बताए । डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार अधुरो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा माग गरिएको बजेट नपरेको र अब आगामी वर्षका लागि प्रक्रिया थालिएको छ ।
विवादका कारण कमलामाई–६ को धुरानसिरान, वडा नम्बर ४ को ढकालगाउँ, साङबाले, खट्टार, मरिण र हरिहरपुरगढीमा करिब डेढ किलोमिटर सडक निर्माण हुन सकेको छैन । यसैबीच ग्वाङ्खोलामा २०६५ सालमा निर्माण गरिएको पुल नै अहिलेसम्म सञ्चालनमा छ । जुन जीर्ण भएकाले एकतर्फी मात्र सवारीसाधन चलाइएको छ । छुटेका खण्डमा काम गर्न बजेट माग गरिएकोमा यो वर्ष नपरेको र आगामी वर्षमा फेरि सडक विभागमा स्वीकृति माग्ने तयारी भएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख अधिकारीले सुनाए ।
‘पुल निर्माण गर्ने कार्यक्रम छैन, छुटेको सडक निर्माणका लागि स्वीकृति माग गरिएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा हुन्छ भन्ने आस छ, यसबारे विभागमा जानकारी गराइसकेका छौं ।’ सिन्धुलीबाट हेटौंडासम्म कतै बस्ती त कतै जंगल हुँदै यो राजमार्ग निर्माण गरिएको हो । जंगलभित्र बनेको सडकमा भिडियो, फोटो खिच्नेको भीड लाग्ने गर्छ । यो सडकले सबैको ध्यान खिच्ने गरेको छ ।
आयोजनाको सुरु लागत अनुमान ७५ अर्ब रुपैयाँ थियो । यसको दूरी १ हजार ३ सय ९० किमि छ । योमध्ये ७ सय ४० किमि मात्र निर्देशनालयको कार्यक्षेत्रभित्र पर्छ । बाँकी ६ सय ५० किमि सडक विभागअन्तर्गतकै अन्य आयोजनाले हेरिरहेका छन् । निर्माण थालेको ७ वर्षमा प्रगति भने ५१ प्रतिशत मात्र भएको छ । सडक निर्माणमा पर्ने रुख कटान र बजेट अभाव मुख्य समस्या रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक दीप बाराहीले बताए । ‘७ सय ४० किमिमा ३ सय ६५ किमि सडक कालोपत्र भएको छ, आयोजना सुरु भएयता ३८ अर्ब खर्च भइसकेको छ,’ उनले भने, ‘बजेट अभावमा भने सोचेअनुरुप काम गर्न सकिएको छैन ।’
आयोजना सुरु गर्दै गर्दा आर्थिक वर्ष २०८१÷८२ मा सक्ने भनिएको थियो । यो समयभित्र काम नसकिने भएपछि २०८४÷८५ सम्मका लागि समय थपको प्रस्ताव गरिएको निर्देशनालयले जनाएको छ । समग्र राजमार्गमा १ सय ८५ वटा पुल निर्माण गर्नुपर्नेछ । अहिलेसम्म १ सय ४४ वटा पुलको मात्र निर्माण सकिएको आयोजनाले जनाएको छ ।
‘हामीलाई अहिले ठूलो समस्या भनेको बजेटको हो, आगामी आर्थिक वर्षका लागि ६ अर्ब माग गरिएकामा २ अर्ब ५१ करोड रुपैयाँ मात्र विनियोजन भएको छ,’ बाराहीले भने, ‘जसले गर्दा नयाँ ठेक्का व्यवस्थापनको कामगर्न समस्या छ ।’ यो राजमार्गका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।







