महिलाउद्यमी रोजगार मेला सम्पन्न
हेटौंडा- मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा भएको महिला उद्यमी रोजगार दुईदिने मेला सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शुक्रबार र शनिबार मेला आयोजना गरिएको हो ।२ दिनको मेलामा प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीको सहभागिता रहेको थियो ।
हेटौंडा–२ स्थित होटल एभोकाडोमा भएको मेलामा उद्यम, व्यवसायसम्बन्ध कार्यशाला भएको थियो । कार्यशालामा अधिवक्ता एवम् लेखापरीक्षक कृष्णप्रसाद भण्डारीले लेखासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । श्रम, रोजगार तथा यातायात मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलले सरकारी निकायबाट भएगरेका कामको विषयमा प्रस्तुती राखेकी थिइन् ।
महिलाउद्यमी शर्मिला डंगोलले सहकारीको वित्तीय सेवासम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । आन्तरिक राजश्व कार्यालय हेटौंडाका करअधिकृत प्रेमप्रसाद तिमल्सिनाले आन्तरिक राजश्व र करसम्बन्धी कार्यपत्र, नबिल बैंकका वरिष्ठ अधिकृत चन्द्रबहादुर श्रेष्ठ र ऋणअधिकृत प्रशान्त गौतमले बैंकिङ सेवा, सुविधासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
मकवानपुर महिलाउद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेले मेलाको आयोजना गरेर उद्यम, व्यवसायमा सक्रिय महिला उद्यमी, व्यवसायीलाई आआफ्नो उद्यम र व्यवसायलाई अझ विस्तार गर्न प्रोत्साहित गर्न खोजिएको बताइन् । मेलामा सहभागी महिलाउद्यमीले आफ्ना वस्तुको प्रदर्शनी तथा विक्री गरेका थिए । समापन समारोहमा हेटौंडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको पनि आतिथ्य रहेको थियो ।







