सुमिनालाई महालक्ष्मी विकास बैंकको ५० हजार छात्रवृत्ति
हेटौंडा-हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयकी छात्रालाई महालक्ष्मी विकास बैंकले छात्रवृत्ति वापत ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ । सोमबार विद्यालयमै पुगेर कक्षा–८ की छात्रा सुमिना लामिछानेलाई बैंकले छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो । सुमिनालाई लगातार ३ वर्ष बैंकले छात्रवृत्ति रकम प्रदान गर्नेछ । बैंकका संस्थापक एवम् पूर्वअध्यक्ष स्वर्गीय अशोक श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘स्व. अशोक श्रेष्ठ महालष्मी मेरिट छात्रवृत्ति’ सुमिनालाई प्रदान गरिएको महालक्ष्मी विकास बैंकका बागमती प्रदेश (ख) प्रमुख शम्भुप्रसाद पराजुलीले जानकारी दिए ।
८ कक्षामा अध्ययनरत विद्यार्थीलाई एसईई उत्तीर्ण हुने अवधिसम्म लगातार तीन वर्ष छात्रवृत्ति प्रदान गरिने उनले बताए । छात्रवृत्ति रकम हस्तान्तरणका लागि स्वर्गीय अशोक श्रेष्ठकी श्रीमती निर्मला श्रेष्ठ, महालक्ष्मी विकास बैंकको बागमती प्रदेश (ख) प्रमुख पराजुली, हेटौंडा शाखाका प्रबन्धक अनन्तराज धिताल विद्यालय पुगेका थिए । वडाध्यक्ष सविन न्यौपाने, विद्यालयकी प्रधानाध्यापक मालती पोखरेल, वि.व्य.स. अध्यक्ष जानुका गिरीको उपस्थितिमा छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो ।







