थाहा र गढी पूर्णखोप सुनिश्चि पालिका घोषणा
हेटौंडा- मकवानपुरको थाहा नगरपालिका ‘पूर्णखोप दिगोपना सुनिश्चितता वडा तथा पालिका’ घोषणा भएको छ । थाहा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख बिष्णु बिष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले संयुक्तरुपमा मंगलबार घोषणा गरेका हुन् । यो घोषणा ‘पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गरिएको हो । नगर स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीका अनुसार, पहिलोचरणमा नगरका सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्ण खोप निर्देशिका २०७१’ को आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको हो ।
गत आर्थिक वर्षमा ०–१५ महिनाका ६४१ जना र १६–२३ महिनाका ५४७ जना बालबालिकाले पूर्णखोप लगाएका थिए । पछिल्लो सर्वेक्षणअनुसार, १६–२३ महिनाका ४३८ र ०–१५ महिनाका ४८८ जना बालबालिकाले पूर्णरुपमा खोप लगाएको तथ्यांक रहेको जनाइएको छ । खोप समन्वय समितिको सक्रियतामा हरेक वडामा घरभेट सर्वेक्षण, २९ वटा खोपकेन्द्रबाट मासिक नियमित सेवा र छुटेकालाई खोप दिने कार्य भएको जनाइएको छ । यसै आधारमा करिब ९५ प्रतिशत खोप पहुँच दर पुगेपछि, पालिकालाई जिल्ला समन्वय समितिमा प्रस्ताव पेश गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा प्रमुखअतिथि उपप्रमुख भरत गोपाली, विशिष्टअतिथि जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, १२ वटै वडाका अध्यक्षहरु, स्वास्थ्यसंस्थाका प्रमुखहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले खोप सुनिश्चितता पालिका बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
१२ वटा वडा रहेको थाहा नगरपालिकामा साबिकका दामन, पालुङ, बज्रवाराही, चिलाङ, टिस्टुङ र आग्रासहित ६ वटा गाविस समेटिएका छन् । पालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र तीन सहरी स्वास्थ्य केन्द्रसहित पाँचवटा स्वास्थ्य संस्था रहेका छन् । नगरप्रमुख बिष्टले घोषणा कार्यक्रममा खोपले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने स्पष्ट पारे । खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी मकवानपुरगढी गाउँपालिका पनि पूर्णखोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यही जेठ २५ गतेसम्ममा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले मकवानपुरगढी सुनिश्चिताको घोषणा गरेको हो ।
जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरेसँगै मकवानपुरगढी घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिका संयोजक एवम् गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको अध्यक्षतामा घोषणा कार्यक्रम भएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले ‘पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र’ गाउँपालिका अध्यक्ष स्याङ्तानलाई प्रदान गरेका थिए ।
खोप समन्वय वडासमिति र वडामा रहेका स्वास्थ्यसंस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो । वडाहरुले वडा घोषणा भएसँगै मंगलबार गाउँपालिका घोषणा भएको स्वास्थ्य शाखाप्रमुख ध्रुवप्रसाद लामिछानेले बताए । गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत ई. सुधन लामिछाने, २ का वडाध्यक्ष बखानसिं पाख्रिन, ५ का वडाध्यक्ष दीपेश दाहाल, ३ का वडाध्यक्ष भागवत घिमिरे, ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा ७ का वडाध्यक्ष सूर्यबहादुर रुम्बा, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत घिमिरे, खोपअधिकृत मनिर आलमको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका शाखाप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, रेडक्रम र टोलविकासका प्रतिनिधिका साथै स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।







